लिग २ अन्तर्गतको खेलमा यूएईविरुद्ध शानदार जित हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको छ । साथै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना पनि नेपालले जिवित राखेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको महत्वपूर्ण खेलमा युएईलाई १७७ रनले पराजित गर्दै नेपालले आफ्नो एकदिवसीय मान्यता कायमै राखेको हो ।

हारसँगै यूएईले ओडीआई मान्यता गुमाएको छ भने अमेरिकाको ओडीआई मान्यता जोगिएको छ ।

जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौथो स्थान पक्का गरिसकेको छ र बाँकी दुई खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ ।

नेपाल र यूएई दुबैका लागि गर या मरको स्थितिमा रहेको खेलमा टस जितेर पहिला व्याटिङ गरेको नेपालले २४८ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।

नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमै अलआउट भयो।

युएईका वृत्य अरिवन्द शुन्य रनमा बोल्ड भएका थिए भने आर्यन लक्रा पनि शून्यमै बोल्ड भए । यस्तै युएईका लागि मोहमद वासीमले ८ रन, आशिफ खानले ६ रन, रोहान मुस्ताफाले ६ रन, आयान खानले २९ रन, जावर फरिदले २ रन, आश्वत भल्थापाले १४ रन बनाए ।

बलिङमा नेपालका ललित राजवंशीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट हात पारे। यस्तै सोमपाल कामी, गुल्झन झा र दिपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छदा २४८ रनमा अलआउट भयो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७७ रन, भीम सार्कीले २९ रन, आसिफ शेख शून्य, कुशल भुर्तेल ८ रन, कुशल मल्लले ९ रन, आरिफ शेखले ४३ रन, गुल्शन झाले ३७ रन, दिपेन्द्रसिंह ऐरीले ३४ रन बनाए भने सन्दीप लामिछाने र सोमपाल कामी २-२ रनमा आउट भए ।

बलिङमा युएईका आयान खान, जहूर खान, जावर फरिद र रोहान मुस्ताफाले २-२ विकेट लिन सफल भए।