विश्वकप क्रिकेट लिग–२ मा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको थियो।

२०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ औं ओभरमा अलआउट भएको थियो। नेपाली ब्याट्सम्यानले १३९ रन मात्र बनाए।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ६० रन बनाएका थिए । नवौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप लामिछानेले २६ रन बनाए भने आशिफ शेखले १७ रन हानेका थिए।

अरू कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

युएईका लागि आशिफ खानले सर्वाधिक ७२ रन बनाए । यस्तै रोहन मुस्ताफाले नटआउट ५२ रन बनाए। आर्यन लाक्राले २८ रन बनाउँदा कप्तान सिपी रिजवानले २२ तथा भित्य अर्बिन्दले १८ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेका लामिछानेले २७ रन खर्चिएर ३ विकेट लिएका हुन्।

यस्तै करण केसी आसिफ शेख र कुशल मल्लले १-१ विकेट लिए ।

योसँगै ५ लगातार ५ खेलदेखि अपराजित रहेको नेपालको अपराजित यात्रामा बिराम लागेको छ ।