आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत आज नेपालले घरेलु टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र युएईबीचको खेल बिहिबार बिहान ११:४५ बजेदेखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरू हुनेछ।
दुवै टिमले अहिलेसम्म समान २९–२९ खेल खेलिसकेका छन्। सन् २०१९ देखि सुरू भएको विश्वकप लिग टुको अंक तालिकामा युएई पाँचौं र नेपाल छैटौं स्थानमा छन्। आज नेपालले युएईलाई हराएमा तालिकामा पनि पछि पार्नेछ। अंक तालिकाको शीर्ष ५ भित्र अटाउने टोलीको एक दिवसीय मान्यता जोगिनेछ।
पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपाली टोलीले सोही प्रदर्शनलाई निरन्तरता दिने प्रयासमा हुनेछ।
यसअघि युएई सिरिजको पहिलो खेलमा पपुवान्यूगिनीलाई हराएको नेपालले काठमाडौंमा भएका सिरिजका ४ वटै खेलमा जित निकालेको थियो।
यता, युएई भने नेपालसँगको खेलअघि पीएनजीसँग १३१ रनले पराजित भएको थियो।
पपुवा न्युगिनीसँगको फराकिलो हारले युएईलाई थप दबाब छ। यदि आज नेपालसँग पराजित भएमा उसको ओडिआई मान्यतासमेत जोखिममा पर्नेछ।








