बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले युएईमा भइरहेको विश्वकप लिग-२ का खेल खेल्न पाउने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमा आइसिसीले उनलाई खेल्न अनुमति दिएको उल्लेख गर्दै उनी श्याम ढकालको साटो नेपाली टोलीमा सामेल हुने जनाएको छ।

उनलाई क्रिकेटको अन्तरराष्ट्रिय नियामक निकाय आइसिसीले विदेशमा खेल्न जान अनुमति दिएपछि बुधबार दिउँसो ३ बजे युएई गएका हुन् ।

सर्वोच्च अदालतले आइतबार उनलाई विदेशमा खेल्न जाने अनुमति दिएको थियो।

क्यानले घाइते खेलाडी श्याम (मौसम) ढकालको ठाउँमा खेलाडी परिवर्तन गरी सन्दीपलाई समावेश गर्न आइसिसीसँग अनुमति माग्दै आइतबार नै पत्राचार गरेको थियो । ढकाल नेट अभ्यासका दौरान घाइते भएको पनि क्यानले जनाएको छ । ​।