आईसीसी यू–१९ एसिया विश्वकप छनोट मलेसिया नेपालसँग १० विकेटले पराजित भएको छ । मंगलबार यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मलेसियाले दिएको ७३ रनको लक्ष्य कुनै विकेट नगुमाइ नेपालले लगातार चौथो जित हासिल गर्न सफल भएको हो ।
३५.३ ओभरमा अल आउट हुँदै मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा विना कुनै विकेटको क्षतीमा पुरा गर्यो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए । दीपकले २९ बलमा ८ चौकासहित ३८ रन बनाए । अर्जुनले २१ रन बनाएका थिए भने नेपालले मलेसियाबाट अतिरिक्त १४ रन पायो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाएर ७२ रनमै सीमित हुन पुगेको थियो । मलेसियाका लागि मोहम्मद मलेकले सर्वाधिक २६ रन बनाए भने मोहम्मद हरिसन र साहिर स्यामेलले १२-१२ रन जोड्न सफल भए ।
खेलमा नेपालका लागि दिपेश कण्डेलले सर्वाधिक ४ विकेट लिन सफल भए । यस्तै, आकाश चन्दले ३, मिलनले २ र सुवास भण्डारीले १ विकेट लिए ।
सोमबार भएको खेलमा हङकङ नेपालसँग ९ विकेटले पराजित भएको थियो । यस्तै, पहिलो खेलमा नेपालले सिंगापुरलाई ८६ रन र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गर्न सफल भएको थियो ।
६ राष्ट्र सम्मिलित यस खेल प्रतियोगिताको विजेता टोली अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा सहभागी हुनेछ ।








