विश्वकप लिग-२ मा नेपालले लगातार पाचौं जित निकालेको छ । यूएईमा आयोजित त्रिकोणात्मक श्रृंखलामा पपुवा न्यूगिनीमाथि नेपालले सहज जित निकालेको हो ।
कुशल भुर्तेलको अर्धशतकीय पारीसँगै आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईमा आजदेखि सुरु त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनि (पीएनजी)लाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पीएनजीले दिएको २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा ओपनर ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रनको योगदान गरे । यस्तै आसिफ शेखले ४४ रन योगदान गरेर आउट भए । ज्ञानेन्द्र मल्ल ४ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले २० रन, दीपेन्द्रसिंह ऐरीले १७, आरिफ शेखले ३८ रन बनाए । कुशल मल्ल १२ र सोमपाल कामी ५ रनमा अविजित रहे ।
पीएनजीको बलिङमा कतान आसाद भालाले तीन विकेट लिए भने नोरमान भानुवा र सेसे बाउले समान एक विकेट लिए ।
पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०३ रनको योगफल बनाएको थियो । पीएनजीका लागि कप्तान आसाद भाला र चाड सोफरले समान ३६ रन योगदान गरे ।
ओपनर किपिन डोरिगा २९ रनमा आउट हुँदा सेसे बाउ ३१ रनमा पभेलियन फर्किए । हिरि हिरी १० रनमा आउट भए । नोर्मान भानुुआ २५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका गुलसन झाले सर्वाधिक तीन विकेट लिए । कुशल मल्लले दुई विकेट लिँदा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान एक विकेट लिए ।
शृंखलाको दोस्रो खेलमा नेपालले बिहिबार आयोजक यूएईको सामना गर्नेछ ।








