कीर्तिपुरमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तरगतको खेलमा नेपालले लगातार दोस्रो जीत निकाल्दै स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ ।

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेलेपछि नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको हो ।

स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याउँदै नेपालले जारी त्रिकोणात्मक श्रृंखलामा लगातार दोस्रो जित निकालेको हो ।

नेपालले ७७ रनमा ५ विकेट गुमाइसकेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै तीन विकेटको जित निकाल्न सफल भयो । सातौं नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्रसिंह ऐरीले संयमित पारी खेल्दै अविजित ८५ रन बनाएर नेपाललाई जितसम्म डोहोर्याए ।

त्यसअघि पाचौं नम्बरमा आएका कुशल मल्लले स्कटल्यान्डमाथि ६७ बलमा ८१ रन बनाएर आउट भएका थिए ।

नेपालका लागि विजयी चौका हिर्काएका सोमपाल कामीले नटआउट २४ रन जोडे।

ओपनर कुशल भुर्तेल १६ रन, ज्ञानेन्द्र मल्ल ४ रन, आसिफ शेख ९ रन बनाएर आउट हुँदा नेपालले पाँच ओभरमा तीन विकेट गुमाएको थियो । तीनै जनालाई स्कटल्यान्डका क्रिस सोलले क्याच आउट गरे ।

यस्तै नेपालका कप्तान रोहित पौडेल ६ रन तथा सन्दीप जोरा ५ रन जोडेर आउट भए। दुवैलाई स्कटल्यान्डका मार्क वाटले आउट गरे।

बलिङमा स्कटल्यान्डका क्रिस सोल र मार्क वाटले ३९३ विकेट लिए।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ९ विकेटको २७४ रन जोड्यो।

स्कटल्यान्डका लागि माइकल लेस्कले शतक प्रहार गरे । स्कटल्यान्डका ओपनरद्वय क्रिस्टोफर म्याकब्राइडले २२ रन र रिची बेरिङटनले १९ रन जोडे भने टोमस म्याकिङटोस १९ रन, म्याथ्यु क्रस २ रन र ब्रेन्डन म्याकुलम २२ रनमा आउट भए ।

बलिङमा नेपालका सन्दीप लामिछानले तीन विकेट, कुशल मल्लले दुई विकेट, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक-एक विकेट हात पारे।

सिरिजमा नेपालले भोलि आफ्नो तेस्रो खेलमा नामिबिया र मंगलबार अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्नेछ।