काठमाडौंको न्युरोडस्थित रञ्जना ट्रेड सेन्टरमा व्यवसाय गर्ने व्यवसायीहरुको साझा संस्था रञ्जना व्यापार संघले गत शनिवार फुटसल टुर्नामेन्ट प्रतियोगिता सम्पन्न गरेको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको अध्यक्षता रञ्जना व्यापार संघकी अध्यक्ष बिना श्रेष्ठको रहेको थियो भने प्रतियोगिताको संयोजकत्व संघका सचिव यमकुमार श्रेष्ठले गरेका थिए ।
विगत लामो समयदेखि व्यवसायीले भोग्नुपरिरहेको समस्या समाधान नहुँदा धेरै व्यवसायीहरु तनावग्रस्त भएकाले केहि भएपनि तनावमुक्त गराउनका लागि टुर्नामेन्ट प्रतियोगिता सार्थक हुने आयोजकको भनाई छ ।

अहिलेको परिस्थितिमा राज्यले बढाएको अस्वभाविक ब्याजदरका कारण व्यवसायीहरुको विजनेश डामाडोल अवस्थामा रहेको र सिजनका हिसाबले पनि व्यापार नहुने सिजन भएको हुनाले व्यवसायीहरुलाई रिफ्रेस्मेन्ट साथै एकआपसमा भातृत्वको भावना अभिवृद्धि गराउनको लागि खेलको आयोजना गरेको संघकी अध्यक्ष बिना श्रेष्ठले बताईन् ।

संघको अहिलेको कार्यसमितिको टिमवर्क एकदमै राम्रो भएको कारणले गर्दा नै संघले व्यवसायीका हकहित लगायत अन्य थुप्रै कार्यहरु जस्तै करशिक्षा, समाजसेवा बाढीपहिरो, ३÷३ महिनामा रक्तदान कार्यक्रम फुटसल लगायतका कार्यहरु गर्न सफल भएको अध्यक्ष श्रेष्ठले बताइन् ।
त्यस्तै संघका पूर्वअध्यक्ष टेकबहादुर शाक्य (अन्जन)ले संघले गरेको कार्यप्रति सम्मान व्यक्त गर्दै निजि क्षेत्र क्षत विक्षत भएको परिस्थितिमा संघले मैत्रीपूर्ण टुर्नामेन्ट गरेर शिथिल बनेको व्यवसायलाई शारिरीक मानसिक र भौतिक रुपमा उर्जा प्रदान गरेको बताए ।

त्यस्तै संघका पूर्वअध्यक्ष धिरज श्रेष्ठले रञ्जना ट्रेडका सबै व्यवसायीहरुलाई एक्यबद्ध बनाई आपसी भाइचाराको सम्बन्ध स्थापित गर्दै व्यवसायीलाई रिफ्रेस्मेन्ट गराउनका लागि प्रतियोगिताको आयोजना गरेको बताए । आफू निवर्तमान अध्यक्षको हैसियतले कार्यकारी अध्यक्ष तथा सम्पुर्ण कार्यसमितिले गरेको कामप्रति आफू सन्तुष्ट भएको बताउँदै संघलाई सधै साथ र सहयोग गर्ने प्रतिबघता व्यक्त गरे ।
त्यस्तै संघका सचिव तथा फुटसल टुर्नामेन्ट प्रतियोगिताका संयोजक यमकुमार श्रेष्ठले व्यवसाुयमा भएका समस्यालाई भुलाएर खेलबाट शरिरमा नयाँ उर्जा दिनका लागि खेलको आयोजना गरेको जानकारी दिए ।
बिना श्रेष्ठको अध्यक्षतामा रहेर काम गर्न पाउँदा आफूलाई निकै गौरवान्वित महशुस भएको बताउँदै उनले आगामी दिनहरुमा पनि व्यवसायीका समस्याहरुलाई समाधान गर्दै यस्ता कार्यक्रमहरु पनि निरन्तर गर्दै जाने प्रतिवद्धता जनाए ।
साथै आफूले खेलको संयोजन गरिरहदाँ व्यवसायीहरुले आफ्ना दुख पिर मर्का सबै भुलेर एकदमै उत्साहका साथ खेल खेलिरहेको बताउँदै उनले खेल एकदमै रोमाञ्चक ढंगबाट सम्पन्न भएको जानकारी दिए ।
ट्रेडकै एक व्यवसायी सन्तोष थापाले व्यवसायीहरुले सधैं व्यवसाय र समस्याको पछि मात्र नलागि अन्य मनोरञ्जनात्मक खेलकुद पनि आयोजना गर्दै व्यवसायीको दिमागमा भएको नराम्रो कुरा लाई हटाउन सहयोग गर्नुपर्ने बताए । उनले भने –‘ बिना म्यामले गर्दा यो कार्यक्रम सफल भएको हो । आगामी दिनमा पनि संघले यो भन्दा ठूलो अरु कार्यक्रमको आशा गरेको छु ।’












