नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दुई जना क्रिकेटरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आदिल अन्सारी र मेहबुब आलम रहेको सिआइबी स्रोतले जनाएको छ ।

सुरूदेखि नै विवादमा परेको लिगमा स्पट फिक्सिङ भएको भन्ने उजुरीपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो ।

आदिलले टी-२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए । तर मेहबुब भने लिगमा कुनै पनि टिममा आबद्ध थिएनन् ।

आदिलले गत वर्ष अमेरिकाविरुद्धको खेलबाट एकदिवसीय राष्ट्रिय टिम र पपुवा न्युगिनीविरुद्धको खेलबाट टी-२० टिममा डेब्‍यू गरेका थिए। मेहबुब भने नेपालका चर्चित अलराउन्डर हुन् ।

पछिल्लो समय राष्ट्रिय टिममा नरहेका ४१ वर्षीय मेहबुबको नाममा एकै खेलमा दश विकेट लिने कीर्तिमान छ । लिगको समयमा उनी भारतमा गएका थिए । त्यहीँबाट उनले क्रिकेटरसँग फिक्सिङका लागि सम्पर्क गरेको प्रहरीको भनाइ छ ।

राष्ट्रिय टिमबाट नखेले पनि मेहबुबले भने मधेश प्रदेशको टिमबाट गत वर्षसम्म राष्ट्रिय क्रिकेट खेलेका थिए ।

१९ वर्षीय आदिलले पपुवा न्युगिनीविरुद्धको खेलमा डेब्यू गर्दा ११ बलमा ३१ रन हानेर सनसनी मच्चाएका थिए ।

गत महिना भएको टी-२० लिग सुरुदेखि नै विवादमा परेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको लिगमा स्पट फिक्सिङ भएको भन्दै कमेन्टेटर सचिन तिमिल्सेनाले लिग छाडेका थिए ।

यस्तै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलपछिको पत्रकार सम्मेलनमा आफ्नो टिमका खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेको थिए ।

त्यसपछि गृह मन्त्रालयको निर्देशनमा सिआइबीले अनुसन्धान थालेको थियो । सिआइबीले लिगमा स्पट फिक्सिङ भएको र भारतीय कम्पनी सेभेन थ्रीको संलग्नता रहेको निश्कर्ष निकालेको थियो ।