लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगको उपाधि जितेको छ।

बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो।

त्रिवी क्रिकेट मैदानमा १३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो।

विराटनगरका लागि अर्जुन साउदले सर्वाधिक ३४ रन बनाए। यस्तै पृथु बाँस्कोटाले ३१ रन बनाउँदा हुसैन ट्यालेटले १३ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

विराटनगरलाई सस्तैमा रोक्न लुम्बिनीका हरमित सिंह र सागर ढकालले २-२ विकेट लिए। विपुल शर्मा र किशोर महतोले १-१ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा अल आउट हुँदै १ सय ३३ रन बनाएको थियो।

उसका लागि ओपनर लाहिरू मिलान्थाले सर्वाधिक ४१ रन बनाए। हरमीत सिंहले ३० रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐरीले २० रन जोडे। यस्तै इसान पाण्डेले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।