काठमाडौंमा आयोजित दुई देशबीचको एकदिवसीय शृंखलाको उपाधि नेपालले जितेको छ। शुक्रबार भएको निर्णायक खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि हात पारेको हो।
युएईले दिएको १ सय ७७ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै ४१ औँ ओभरमा पूरा गरेको हो। नेपाललाई जित दिलाउने क्रममा ज्ञानेन्द्र मल्ल र आशिफ शेखले अर्धशतकीय पारी खेले।
ज्ञानेन्द्र मल्ले ७३ बलमा ३ छक्का र ७ चौकाको मदतले ६४ रन बनाउँदा आशिफले अविजित ८८ रन बनाए। ११९ बलको सामना गरेका उनले १२ चौका प्रहार गरेका थिए।
युएईका लागि हजरत बिलाल र आयान खानले १र१ विकेट लिनुबाहेक अन्य बलरले सफलता पाउन सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो। युएईका लागि आयानले सबैभन्दा धेरै ५४ रन बनाए। ६३ बलको सामना गरेका उनले १ छक्का र ७ चौका प्रहार गरेका थिए।
आयानबाहेक आलिशान सारफूले ३३, रोहन मुस्तफाले २४ र हजरत बिलालले २० रन बनाएका थिए। ३२ औँ ओभरमा कुल स्कोर ९३ रन हुँदा नवौँ विकेट गुमाएको युएईका लागि आयान खान र हजरत बिलालले महत्वपूर्ण ८३ रनको साझेदारी गरेर सम्मानजनक स्कोर बनाएका थिए।
युएईलाई सस्तोमा रोक्न नेपालका गुल्सन झा, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २र२ विकेट लिए भने ललित राजवंशी र सोमपाल कामीले १/१ विकेट लिएका थिए।
यसअघि भएको पहिलो खेलमा युएई विजयी भएको थियो भने दोस्रो र तेस्रो खेलमा लगातार नेपालले जित निकालेको हो। यतिवेला आइसिसीको एकदिवसीय वरीयताअनुसार युएई १५ औँ र नेपाल १९ औँ स्थानमा रहेका छन्।








