नाबालिका बलात्कार आरोपमा चार दिनअघि पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई आज सोमबार अदालतमा उपस्थित गराइने भएको छ ।
चार दिनअघि पक्राउ परे पनि सार्वजनिक विदाका कारण आजमात्रै उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।
क्यारेबियन लिग खेल्न विदेश गएका बेला लामिछानेमाथि एक नाबालिकाले आफूमाथि बलात्कार भएको निवेदन अदालतमा दर्ता गराएकी थिइन् । सोही आधारमा जारी भएको पक्राउ पुर्जीअनुसार उनलाई नेपाल फर्किएलगत्तै चार दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।
उनले आत्मसमपर्ण गर्ने इच्छा व्यक्त गरे पनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो ।
सन्दीपमाथि एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी छिन् । प्रहरीले सन्दीपलाई अधिकतम २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ ।








