जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ । अन्तिम तथा निर्णायक खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गर्दै सिरिज २९१ ले जितेको हो।
यसअघि पहिलो एकदिवसीय जिम्बावेले जित्दा दोस्रो खेलमा नेपाल विजयी भएको थियो।
सोमबार ३३ ओभरमा झारिएको खेलमा नेपालले जिम्बावेले दिएको २१४ रनको लक्ष्य ४ विकेटको क्षतिमा ३०.१ ओभरमा पूरा गर्यो।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ८४ रन जोडे। उनले ६१ बलमा ७ चौका र ४ छक्का प्रहार गरे। यस्तै आसिफ शेखले २९ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। दीपेन्द्रले नटआउट ६० रन जोडे। उनले ४३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
रोहित पौडेल डकआउट हुँदा विनोद भण्डारीले पनि नटआउट २८ रन जोडे। विनोदले २६ बलमा ३ चौका हिर्काए।
बलिङमा जिम्बावेका माभुताले ३ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जिम्बावे ३२.१ ओभरमा २१३ रनमा अलआउट भयो।
गए रातिको वर्षाका कारण मैदान हिलो भएकाले टस हुन ढिलाइ भएपछि खेल ३३ ओभरमा झारिएको थियो।
जिम्बावेका लागि ओपनिङ ब्याट्सम्यान मारूमानीले ५० रन जोडे। उनले ३१ बलमा ७ चौका र २ छक्का हिर्काए। माउजेले ३९ रन र रोए काइयाले ३६ रन जोडे। कप्तान टोनी मुन्योङ्गाले २४ रनको योगदान दिए भने लुक जोङ्गेले १९ रन बटुले।
बलिङमा किशोर महतोले ५ विकेट लिए। उनले ७ ओभरमा ४३ रन दिए। सोमपाल कामीले २ विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले १९१ विकेट हात पारे।
यसअघि भएको टी -२० सिरिज भने १-१ को बराबरीमा सकिएको थियो।
नेपालले आगामी महिना अमेरिकामा हुने आइसिसी विश्वकप क्रिकेट लिग९२ अन्तर्गत घरेलु टिम अमेरिका र ओमानविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि जिम्बावेसँग खेलेको हो।








