त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको उपाधि नेपालले जितेको छ ।

सोमबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा पपुवा न्यूगिनी (पिएनजी) लाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजी १६ दशमलब १ ओभरमा १ सय १८ रनमै समेटियो।

पिएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रनको योगदान गरे । ३८ बलमा उनले ६ छक्का र एक चौका प्रहार गरे । चार्ल्स अमिनीले १५ रन बनाए भने अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

पिएनजीलाई सस्तैमा समेट्न दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । करण केसीले ३ र कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । नेपालका लागि बिस्फोट ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरीले नटआउट ५४ रन बनाए । ३८ बल खेलेका उनले ५ चौका प्रहार गरे।

उनले टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका छन्। उनी नेपालबाट टी-२०अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भएका छन्।

यस्तै खेलमा करण केसी ३३ रनमा अविजित रहे भने आसिफ शेखले २९, कुशल भुर्तेलले २५, रोहित पौडेलले २ रन बनाए । आरिफ शेख र दिलिप नाथ शून्य रनमा पेभिलियन फर्किए ।

मलेसिया र पिएनजी सम्मिलित त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलामा नेपाल अपराजित रह्यो । उसले फाइनलसम्मका सबै पाँच खेल जितेको हो।