नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई ३७ रनले हरायो ।
लगातार तेस्रो जित निकालेको नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो । लिग चरणको अन्तिम खेलमा नेपालले शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्यो ।
जितमा लागि २०४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.४ ओभरमा सबै विकेट गुमाएर १६६ रनमा समेटिएको हो । पीएनजीका लागि चाल्र्स अमिनीले सर्वाधिक ६२ रन बनाए भने टोनी उराले ४३, सेसे बाउले २५, नोरमान भानुले १७ र रिले हेकुरेले ६ रन बनाए ।
बलिङमा नेपालका करण केसीले ह्याट्रिकसहित पाँच विकेट लिए भने सोमपाल कामी र अविनास बोहराले दुई दुई तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २०३ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६६ रनको अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले जितका लागि बलियो यगफल तयार पारेको थियो । यस्तै खेलमा रोहित पौडेलले ४१ रन, ओपनर आशिफ शेखले ३८, आदिल अन्सारीले ३१ र कुशल भुर्तेलले १७ रन बनाए ।
बलिङमा पीएनजीका कवुवा मोरेयाले तीन, रिले हेकुरेले दुई तथा नोरमान भानु र नोसईना पोकनाले एक एक विकेट लिए ।
लगातार तीन खेल जितेपछि नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । लगातार तीन खेल हारेको पीएनजीले खाता खोल्न सकेको छैन । मलेसिया दुई अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
तीन टोली सहभागी यस सिरिजमा हरेक टोलीले एक आपसमा दुई दुई खेल खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । शुक्रबार पीएनजी र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल सोमबार हुनेछ ।








