नेपाल टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको हो ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार टी २० विश्वकप छनोटको सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।

१७६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७ रन मात्र जोड्यो ।

नेपालका दीपेन्द्रसिंह ऐरी ३८, ज्ञानेन्द्र मल्ल २० र आरिफ शेखले ११ रन बनाएर आउट हुदा अरू कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यूएईको घातक बलिङसामु नेपाली ब्याट्सम्यानहरु कमजोर देखिए ।

अहमद रजाले ५ र जुनाइद सिद्धिकीले ३ विकेट लिए । रोहत मुस्ताफा र जहुर खानले पनि एक-एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७५ रन जोडेको थियो ।

यूएईका मुहम्मद वासिमले ७० र भित्र्या अरविन्दले ४६ रन बनाए ।

बलिङतर्फ अविनाश बोहरा र जितेन्द्र मुखियाले ३-३ विकेट हात पारे भने सन्दिप लामिछानेले १ विकेट लिए ।

नेपाललाई हराएसँगै यूएई विश्वकपका लागि छनोट भएको छ । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकप खेलेको थियो । त्यसयता छनोट हुन सकेको छैन।

समूहगत चरणमा नेपालले तीनवटै खेल जितेको थियो भने यूएई अन्तिम खेलमा बहराइनसँग पराजित भएपछि उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

मंगलबार नै भएको अर्को सेमिफाइनलमा ओमानलाई ५६ रनले हराउँदै आयरल्याण्ड पनि विश्वकपका लागि छनोट भएको छ । आयरल्याण्डले दिएको १६६ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमान १८.३ ओभरमा १०९ रनमा अलआउट भयो ।

ग्लोबल क्वालिफायरको फाइनलमा युएई र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।