नेपाल आफ्नो अन्तिम खेलमा क्यानडाविरूद्ध ८ विकेटको सहज जित निकाल्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल पुगेको छ ।
नेपालले क्यानाडाले दिएको ८१ रनको लक्ष्य १४.१ ओभरमै पुरा गरेको थियो ।
कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटमा ५८ रनको साझेदारी गरि नेपाललाई विजेता बनाए । कुशलले ३७ बल खेली ३ चौका प्रहार गर्दै ३४ र दीपेन्द्रले ३१ बल खेली ३ चौकासहित २७ रन बनाए ।
ओपनर आसिफ शेख १७ रन बनाई आउट भएका थिए भने तेस्रो नम्बरमा आएका कुशल मल्ल पहिलो बलमै बोल्ड भएका थिए ।
नेपालले मंगलबार फाइनल प्रवेशका लागि यूएईको सामना गर्नेछ । फाइनल प्रवेश गर्ने टोली यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा पुग्ने छ ।
नेपाल समूह ‘बी’ को विजेता भएर यूएईसँग सेमिफाइनल खेल्ने लागेको हो । यूएई बिहान भएको खेलमा बहराइनसँग पराजित भए पनि समूह ‘ए’ बाट उपविजेता भएर सेमिफाइनल पुगेको हो ।
आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गरी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । समूह ‘ए’ विजेता आयरल्यान्डले समूह ‘बी’ को उपविजेता ओमानसँग अर्को सेमिफाइनलमा खेल्ने छ । घरेलु टोली ओमानले फिलिपिन्सलाई ९ विकेटले पराजित गर्यो । फिलिपिन्सलाई ३६ रनमै अलआउट गर्दै ओमानले २।५ ओभरमा ४० रन बनाउदै सजिलो विजय हात पारेको हो ।
यसअघि ओमानको मस्कटमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको क्यानडा १५ ओभर खेली केवल ८० रनमा अलआउट भएको थियो ।
सेमिफाइनलमा पुग्न क्यानडालाई यो खेल जित्नै पर्ने पथ्र्यो । नेपाली बलरहरू हावी बनेको खेलमा कप्तान सन्दीप लामिछानेले ३ विकेट, कमलसिंह ऐरी र अविनाश बोहराले २ २ विकेट कुशल मल्लले १ विकेट लिए ।
क्यानाडाकोतर्फबाट हेयलिगरले सर्वाधिक २४ रन बनाएका थिए ।








