नेपाली बलरहरुले घातक बलिङ गरेपछि आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ।
अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो।
ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन सकेनन् । जतिन्दर सिंह ९, खवार अलि ७, कल्लिमुह ५, आएन खान ३, कप्तान जिसन मक्सुद २ रनमा आउट भए ।
नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १-१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाएका थिए । यस्तै आसिफ शेख ४ रन, कुशल भुर्तेल ५ रन, ज्ञानेन्द्र मल्लले १५ रन, दीपेन्द्रसिंह ऐरीले ११ रन, लोकेश बमले १६ रन, विवेक यादवले ७ रन र अविजित हुदै कप्तान सन्दीप लामिछाने १६ रन जोडेका थिए ।
ओमानका खवार अलीले ३ र विलाल खानले २ विकेट लिए । साथै फयाज बुट र जिसन मुक्सुदले १-१ विकेट लिए ।








