आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल संयुक्त अरब एमिरेट्स (युएई) सँग २५ रनले पराजित भएको छ।

चार देशीय शृङ्खलाको दोस्रो खेलमा युएईले प्रस्तुत गरेको १ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६७ रनमा समेटियो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१ रन तथा आसिफ शेखले २४ रनको योगदान दिए। ओपरद्वय ज्ञानेन्द्र मल्ल र आसिफ शेखले अर्धशतकीय साझेदारी गरे। मल्ल छैटौँ ओभरमा २२ रन बनाएर आउट भए।

खेलको अन्त्यतिर लोकेश बमले ३३ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। युएईका लागि रोहन मुस्तफा र कासिफ दौडले २-२ विकेट लिए। यसअघि खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गर्दै युएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९२ रन बनायो।

युएईका लागि चिराज सुरीले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए। उनले यस क्रममा उनले ५ चौका र ५ छक्का हिर्काए। त्यस्तै, रोहन मुस्तफाले ४९ तथा मुहम्मद वसिमले २२ रनको योगदान दिए।

नेपालका लागि शहाब आलम, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १-१ विकेट लिए। शृङ्खलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो।