नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग (आइएसएल) क्लब इस्ट बंगालमा आवद्ध भएका छन्। उनी यसै सिजनको अन्तसम्मका लागि क्लबमा आवद्ध भएका हुन्। सिजनमा बाँकी रहेका चार खेलका लागि अन्नतले सम्झौता गरेका हुन्।

आइएसएलमा अनुबन्धन हुने अनन्त पहिलो नेपाली खेलाडी बने पनि उनी थोरै खेलका लागि मात्र आवद्ध भएका छन्। सिजनमा केबल चार खेल मात्र बाँकी रहँदा इस्ट बंगाल अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ। मुख्य प्रशिक्षक मारियो रिभेराका लागि अनन्त डिफेन्समा महत्त्वपूर्ण विकल्पका रुपमा रहने छन्।

नेपाली ए डिभिजन क्लब थ्री स्टार क्लबमा अन्नत अनुबन्धित रहेका थिए। विदेशी क्लबमा खेल्ने भएपछि थ्री स्टारले उनलाई रिलिज गरेको छ। जसका कारण उनी फ्रि ट्रान्सफरमै इस्ट बंगालमा आवद्ध हुने छन्।

अनन्तले यसअघि २०१७-१८ मा स्पेनको मार्बेला युनाइटेडमा प्रशिक्षण गरेका थिए। उनी सन् २०१६ को बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद र सोलिडारिटी कपको उपाधि जित्दा टोलीका महत्त्वपूर्ण सदस्य थिए। राष्ट्रिय टिमबाट ४३ खेलमा उनले दुई गोल गरेका छन्।