आईसीसी विश्व क्रिकेट लिग–२ अन्तगर्त आज सम्पन्न पहिलो एकदिबसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको छ ।
अमेरिकाले प्रस्तुत गरेको २३१ रनको लक्ष्य नेपालले खेल सकिन एक ओभर बाँकी छदा मात्र पाँच विकेटको क्षतिमा पुरा गर्यो ।
ओपनर कुशल भुर्तेल र आशिफ शेषले ६६ रनको साझेदारी गर्दा नेपालले औसत लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुवात गरेको थियो । आशिफ शेषले २३ रन बनाएर पेभेलियन फर्किदा कुशल भुर्तेलले भने ९३ बलको सामना गर्दै तीन चौका र तीन छक्काको सहयोगमा ८४ रनको उत्कृष्ट पारी खेले ।
नेपालको जितमा रोहित पौडेलले अविजित ६२ रन, बिनोद भण्डारीले ३७ रन, कप्तान ज्ञानेन्द्र मल्ल १७ र कुशल मल्ल १ रन हाने ।
त्यसअघि, ओमानको अल एमिरात क्रिकेट रङशालामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अमेरिकाले पुरै ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३० रनको योगफल तयार गरेको थियो ।
अमेरिकाका लागि मनाङ्क पटेलले शतकीय पारी खेलेपछि अमेरिकाले सम्मानजनक योगफल तयार गर्न सफल भयो । उनले मात्र ११४ बलको सामना गर्दै नौ चौका र एक छक्काको सहयोगमा एक सय हानेका थिए ।
बलिङतर्फ नेपालबाट बिक्रम सोबले छ ओभरमा ३३ रन खर्चेर दुई तथा सन्दीप लामिछानेले दश ओभरमा ३५ रन खर्चेर दुई, सुशन भारीले दश ओभरमा ३१ रन खर्चेर दुई विकेट र कुशल मल्लले एक विकेट लिए ।
नेपालले दोस्रो खेलमा ओमानको सामना गर्नेछ ।








