नेपालमा रिङ्ग रेस्लिङ खेलको विकास र अन्तर्राष्ट्रिय रेस्लिङ्ग खेलाडी उत्पादन गरिरहेको नेपाल रिङ रेस्लिङ्ग संघले पोखरामा आगामी चैत्र २० र २१ गते राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता २०२१ गर्ने भएको छ ।

पर्यटकीय नगरी पोखराको रंगशालाको कभर्डहलमा हुने दुई दिने प्रतियोगितामा नेपालभरका रेस्लरले प्रतिस्पर्धा गर्ने जानकारी बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको हो । संघले यस अगाडि पोखरामा नै पहिलो अन्तर्राष्ट्रि रेस्लिङ्ग प्रतियोगिता गरिसकोले यो दोश्रो प्रतियोगिता भएको कार्यक्रमकी संयोजक राष्ट्रिय खेलकुद परिषदकी सदस्य एवं संघका महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।

च्याम्पियन रेसलरले नगद रु.१ लाख र आर्कषक बेल्ट प्राप्त गर्ने दोश्रोले नगद रु.५० हजार प्राप्त गर्ने श्रेष्ठले बताइन् । रेस्लिङ्ग प्रतियोगिताको यो अहिलेसम्म कै सर्वाधिक राशी हो ।

पोखरामा राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता चैत्र २० र २१ गते हुँदै

आयोजकले पोखरामा हुने प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका लगायत अन्य निकायहरुको सहयोगको अपेक्षा राखेको छ । आयोजक श्रेष्टले भनिन्–‘ प्रतियोगिताका लागि करिव २९ लाख खर्च हुने अनुमान गरिएको छ ।’

पोखरा रगंशालाको बहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगितामा नुवाकोटे टाईगर, थागु, द यूव, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोन लगायत महिला तथा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा रहने जनाइएको छ ।

प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनीले रेफ्रीको भूमिकामा खेल संचालन गर्ने जनाइएको छ । प्रतियोगितालाई थप आकर्षक बनाउन हास्य कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुती समेत रहने आयोजकले जानकारी दिएको छ ।

पोखरामा राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता चैत्र २० र २१ गते हुँदै

नेपाल रिङ रेस्लिङ संघले पोखरामा २०७३ साल फागुन १८—२१ मा नेपाल भारत मैत्रिपुर्ण प्रतियोगिता र २०७४ फागुन १८ गते अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सम्पन्न गरीसकेको छ । नेपालमा रिङ रेस्लिङ खेलको विकास तथा विस्तारका लागि खेलाडीको उत्पादन सँगै निरन्तर रुपमा तालिमको ब्यबस्थापन गर्न रिङ रेस्लिङ्ग एकेडेमीकोे स्थापना समेत गरेको संघले जानकारी गराएको छ । हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर (कमल तामाङ्ग)ले नियमित रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिनका लागि संघले अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणको व्यवस्था समेत गरेको र खेलाडीलाई विदेशमा समेत सहभागी गराउँदै आएको जनाएको छ ।