क्यारेबियन प्रिमियर लिग ‘सीपीएल टी-ट्वान्टी’ क्रिकेट आजबाट शुरू हुँदैछ । कोरोनाभाइरसको महामारी देखिएपछि आयोजना हुन लागेको यो पहिलो टी-ट्वान्टी फ्रेन्चाइज लिग हो ।

कोरोनाभाइरसका कारण हाल विश्वभर विभिन्न फ्रेन्चाइज क्रिकेट लिगहरू संचालन हुन सकेका छैनन् । सेप्टेम्बर १० सम्म चल्ने आठौं संस्करणको सीपीएलमा ६ वटा टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

लिग अन्तर्गत कुल ३३ खेल हुँदैछन । तर सबै खेलमा दर्शकको उपस्थिति माथि प्रतिबन्ध लगाइएको छ । नेपाली स्पीनर सन्दीप लामिछाने आबद्ध टिम जमाइका तलवाजले आफ्नो पहिलो खेल भोलि सेन्ट लुसिया जुक्ससँग खेल्दैछ ।

सन्दीपले सीपीएल खेल्न लागेको यो तेस्रो पटक हो। उनले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट सिपिएल खेलेका थिए । सन् २०१९ मा भने सन्दीपले बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।