नेपालका स्पिनर सन्दीप लामिछानेले अहिलेसम्मकै धेरै रकममा क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा अनुबन्धित भएका छन् ।

उनलाई यो सिजन जमैका तलावाजले एक लाख ३० हजार अमेरिकी डलरमा सोमबार दोस्रो राउन्डमा अनुबन्ध गरेको हो । उनले आफ्नो मूल्य ९० हजार अमेरिकी डलर (एक करोड ८ लाख नेपाली रुपैयाँ) तोकेका थिए ।

ईएसपीएन क्रिक इन्फो अनुसार सन्दीपसँग जमैका तलावाजले एक लाख ३० हजार अमेरिकी डलरमा सम्झौता गरेको हो ।

यो सिजनको सिपिएल ट्रिनिडाड एन्ड टोबागोमा यही अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म हुने कार्यक्रम छ । कोरोना भाइरसको संकटका कारण यो सिजनको खेल सरकारको अनुमतिमा दर्शकविहीन बन्द रंगशालामा हुनेछ ।

सन्दीपले सिपिएल खेल्न लागेको यो तेस्रो सिजन हो। अघिल्ला सिजनमा सन्दीपले सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्सबाट खेलिसकेका छन् । अघिल्लो सिजन भने राष्ट्रिय टिमबाट खेल्नुपरेपछि उनले सिपिएल बीचमै त्यागेका थिए । सन्दीपले सिपिएलको पहिलो सिजनमा ५ हजार अमेरिकी डलर र दोस्रो सिजनमा ७० हजार अमेरिकी डलरमा खेलेका थिए ।

यो सिजन सन्दीपले जमैका तलावाजमा रहँदा विश्व चर्चित क्रिकेटरहरु आन्द्रे रसेल, ग्लेन फिलिप्स, कार्लोस ब्रेथ्वेट, ओशाने थोमससहितका खेलाडीसँग खेल्नेछन्। सन्दीप विश्वका विभिन्‍न क्लबस्तरीय दर्जनभन्दा धेरै क्रिकेट प्रतियोगितामा खेल्ने एक्ला खेलाडी हुन्।