साग खेलकुदमा आज १५ वटा खेल हुँदै, फुटबलमा धेरैको चासो

news-details

सागमा आइतबार आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । पदक तालिकामा सातौं दिनसम्म भारतले ११९ स्वर्णसहित अग्रता कायम राखेको छ भने दोस्रो स्थानमा रहेको नेपालको ४३ स्वर्ण रहेको छ ।

पुरुष फुटबलतर्फ आइतबार नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको विजेताले फाइनल पुग्ने अर्को टिमको टुंगो लाग्नेछ ।भुटान यसअघि नै फाइनल पुगिसकेकोकाले नेपाललाई फाइनल पुग्न कम्तीमा बराबरीको नतिजा आवश्यक छ । नेपाल पराजित भएमा भने कास्य पदकका लागि खेल्नेछ । नेपाल अघिल्लो सागको स्वर्ण पदक विजेता हो ।

क्रिकेट अन्तर्गत महिला क्रिकेटमा आइतबार स्वर्ण पदकको लागि टेष्ट राष्ट्र श्रीलंका र बंगलादेश भिड्दै छन् ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पुरुष क्रिकेटमा टेष्ट राष्ट्र श्रीलंका यू–२३ र बंगलादेश यू–२३ बीच प्रतिस्पर्धा हुनेछ । लिग चरणको अन्तिम खेल बिहान ११ बजे सुरु हुनेछ । एक खेल अगाबै श्रीलंका र बंगलादेश फाइनल पुगिसकेका छन् । घरेलु टोली नेपाल भने दुवै टेष्ट राष्ट्रसंग पराजित भएको थियो ।

सागको आठौं दिन सुटिङतर्फ एक मात्रै खेल रहेको छ । सातदोबाटोस्थित सुटिङ हलमा एयर पेस्तोल खेल हुनेछ । दुई चरणमा खेलाईने खेलको फाइनल आइतबार नै हुनेछ ।

स्क्वासतर्फ आइतबार महिला पुरुष तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुँदैछ । सातदाबोटोस्थित स्क्वास हलमा हुने खेलमा नेपालले टिम इभेन्ट तर्फमात्रै खेल्नेछ । अन्य विधामा भने नेपाल यस अघिनै बाहिरिसकेको छ । फाइनल खेलमा भारत र पाकिस्तान भिड्नेछन् ।

साग अन्तर्गत जुडोको खेल आइतबारबाट सुरु हुँदैछ । आठौं दिनमा आएर सुरु भएको जुडोमा पहिलो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । जसमा नेपालका ४ महिला तथा पुरुषतर्फ ३ खेलाडीले भाग लिनेछन् । खेल त्रिभुवन आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा हुनेछ ।

बक्सिङमा आइतबार विभिन्न १४ तौल समूहको सेमिफाइनल खेल हुनेछ । जसमा नेपालले ६ तौल समूहमा प्रतिस्पर्धा गर्नेछ ।

भारोत्तोलनमा पनि विभिन्न स्पर्धा हुनेछ । पोखरामा हुने खेलमा पुरुषको ३ र महिलाको २ स्पर्धा हुनेछ । पुरुष तर्फ १०२ केजी, १०९ केजी र १०९ केजी माथि तौल समुहको खेल हुनेछ । यस्तै महिलामा ८७ केजी र ८७ केजी माथिको तौल समुहका खेल हुनेछ ।

ह्याण्डबलमा आइतबार अन्तिम दिन स्वर्ण र कास्य पदकको लागि खेल हुनेछ । महिलातर्फको स्वर्णका लागि नेपाल र भारत खेल्ने छन् भने पुरुषतर्फ भारत र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ कास्यको लागि बंगलादेश र पाकिस्तान भिड्ने छन् । पुरुषतर्फ बंगलादेश र श्रीलंका खेल्नेछन् ।

बास्केटबलमा आइतबार पनि लिग चरणको विभिन्न खेल हुनेछ । आइतबार नेपालले पुरुषमा माल्दिभ्ससँग खेल्ने छन् । महिलामा नेपालले भुटानसँग खेल्नेछ ।यस्तै थ्री बाई थ्री बास्केटबलको महिलामा नेपालले श्रीलंका र भारतसँग खेल्नेछ । पुरुषमा नेपालले भारतसँग खेल्नेछ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *