टी-२० विश्वकप खेल्ने नेपालको आशा समाप्त, सिंगापुरसँग लज्जास्पद हार

news-details

सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकप क्रिकेटको एसियाली छनोटमा आयोजक सिंगापुरसँग लज्जास्पद हार बेहोरे पछि टी-२० विश्वकप खेल्ने नेपालको आशा समाप्त भएको छ ।

आइतबार भएको एसियाली छनोटको निर्णायक खेलमा सिंगापुरले दिएको १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १ सय ९ रनमै समेटिए पछि प्रतियोगीताको एसियाली छनोटबाटै बाहिरिएको छ । जितसँगै सिंगापुर भने टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्न सफल भएको छ।

निर्धारित २० ओभरको खेलमा १५ ओभर मात्रै मैदानमा टिक्न सकेको नेपालका ४ खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए। उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे। कप्तान पारस खड्काले १२ रन बनाउँदा सोमपाल कामीले ११ रनको पारी खेले।

सिंगापुरलाई जिताउन सेलाडोर विजयकुमार एक्लैले ४ विकेट हात पारे । ४ ओभरको स्पेलमा उनले २५ रन मात्र खर्चिएका थिए। विनोथ भास्करणको नाममा २ विकेट रह्यो ।

यसअघि इन्डियन एसोसियसन ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रनको योगफल खडा गरेको हो ।

घरेलु मैदानमा सिंगापुरका टिम डेभिडले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले बलियो लक्ष्य पाएको हो । उनले ४३ बलको सामना गर्दै ७७ रन जोडे । उनको परीमा ८ चौका र ३ छक्का सामेल थिए।

त्यसअघि आक्रामक ब्याटिङ गरेका ओपनर रोहन रंगराजन ४९ रनमा आउट भएका थिए। अभिनास बोहराको बलमा आउट हुनुअघि उनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। उनका ओपनिङ पार्टनर चन्द्रमोहन भने ७ रनमा आउट भए ।

मनप्रित सिंहले ४२ रनको योगदान दिदा सिंगापुरको इनिङले गति लियो । उनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

बलिङमा नेपालका अभिनास बोहराले ४ विकेट लिए । उनले ४ ओभरमा ३५ रन खर्चिए । करण केसीले २ विकेट हात पारे । उनले ३ ओभरमा २९ रन खर्चिए ।

४ ओभर बलिङ गरेका बसन्त रेग्मी महँगा साबित भए । विकेट लिन नसकेका बसन्तले ५४ रन दिए । सन्दीप लामिछानेले ३ ओभरमा ३४ रन दिँदा विकेट लिन सकेनन् ।

प्रतियोगिताको दाबेदारको रुपमा रहेको नेपाली टोलीले बलिङ, ब्याटिङ र फिल्डिङ सबै क्षेत्रमा कमजोर प्रदर्शन गर्दै नतिजा सिंगापुरलाई सुम्पिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *