अर्जेन्टिनी स्टार हिगुएनले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

news-details

अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमका स्टार फवार्ड गोन्जालो हिगुएनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । अर्जेन्टिनी टिममा पछिल्लो समय स्थान बनाउन असफल हुँदै आएका हिगुएन अब क्लब फुटबलमा नै केन्द्रित हुने भएका छन् ।

चेल्सीबाट व्यावसायिक फुटबल खेल्दै आएका ३१ वर्षीय हिगुएनले सन्यास लिने क्रममा पनि अब आफू क्लब फुटबलमा नै केन्द्रित हुने बताए । हिगुएन यसै जनवरीमा युभेन्टसबाट लोनमा चेल्सी पुगका हुन् । उनले राष्ट्रिय टोलीबाट ७५ खेल खेल्दै ३१ गोल गरेका छन् । तर सन् २०१८ को फिफा विश्वकपपछि उनले टोलीमा स्थान बनाउन सकेका थिएनन् ।

‘म केही समय परिवार र विशेषगरी छोरीसँग बिताउन चाहन्छु। मैले राष्ट्रको लागि गर्न सक्ने योगदान गरिसके जस्तो लागेको छु’ हिगुएनले सन्यास घोषणा गर्दै भने, ‘मेरो ध्यान अहिले पूर्णरूपमा चेल्सीप्रति केन्द्रित छ । प्रिमियर लिग साँच्चै नै रमाइलो छ । म यो प्रतिस्पर्धात्मक लिगमा केन्द्रित हुन चाहन्छु ।’

राष्ट्रिय टोलीबाट खेल्दा हिगुएनले तीन महत्त्वपूर्ण प्रतियोगिताको फाइनल खेलेका थिए । उनले सन् २०१४ को विश्वकप फुटबल तथा सन् २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा प्रतिस्पर्धा गरे । हिगुएन सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीविरुद्ध नियमित ९० मिनेट समयमा गोल गर्ने अवसर चुकाउँदा अर्जेन्टिना जितबाट वञ्चित भएको भन्दै उनको आलोचना हुने गरेको छ । त्यसपछि सन् २०१५ को कोपा अमेरिका फाइनलमा पनि नियमित समयमा गोल गर्ने अवसर चुकाएका हिगुएनले टाइब्रेकरमा पनि पेनाल्टी चुकाएका थिए ।

उनले आफ्नो आलोचना गर्नेहरूलाई पनि जवाफ दिने प्रयास गरे । हिगुएनले भने ‘सबैले मैले गरेको गल्ती देख्दा सफलता भने बिर्सन खोज्छन् । मलाई लाग्छ सबैले सन् २०१४ विश्वकपको क्वार्टरफाइनलमा बेल्जियम विरुद्ध गोल हेर्नुभयो होला,’ उनले थपे, ‘जब कसैको आलोचना हुन्छ, त्यसले खेलाडीसँगै उसको परिवारलाई पनि असर गर्छ । मैले राष्ट्रिय टोलीका लागि सक्दो प्रयास गरे । हामीले उपाधि जित्ने लक्ष्य हासिल गर्न सकेनौ, तर यसको मतलब हामी सफल नभएको भन्न मिल्दैन ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *