एशिया कप छनोटमा नेपालको दोश्रो जित, सिंगापुरलाई ४ विकेटले हरायो

news-details

एशिया कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ ।

मलेसियाको युभीएम ओभलमा सिंगापुरले दिएको १५१ रनको लक्ष्य नेपालले २८ दशमलव २ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि ओपनर अनिलकुमार साहले सर्बाधिक ४३ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले ३३ रनको योगदान दिए ।

पहिलो विकेटका लागि साह र सुवास खकुरेलले ५६ रनको साझेदारी गरेका थिए । ११औं ओभरमा अनिल ४३ रनमा आउट भएपछि आएका कप्तान पारस खड्का ११ रनको व्यक्तिगत स्कोरमा १३ दशमलव २ ओभरमा आउट हुँदा नेपालले ७१ रन बनाएको थियो । त्यसै ओभरको पाचौं बलमा अर्का ओपनर खकुरेल पनि १४ रन बनाएर आउट भए ।

त्यसपछि आएका उपकप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले ४७ रनको साझेदारी गरे । दिपेन्द्रले ३३ रन बनाउँदा मल्ल २९ रनमा आउट भए । नेपालका लागि सागर पुनले पनि १४ रन बनाए ।

बलिङतर्फ मलेसियाका विजय कुमार सेलाडोर र अनन्थ कृष्णाले दुई दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रनको योगफल बनाएको थियो । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछाने र ललितनारायण रजवंशीले ३-३ विकेट लिँदा सोमपाल कामीले २ विकेट लिए । त्यस्तै भेट्रान स्पिनर बसन्त रेग्मीले १ विकेट लिए ।

सिंगापुरका लागि चेतन रामचन्द्र सूर्यवंशीले सर्बाधिक ५६ रन बनाउँदा अनिश एडवार्ड पारामले ३१ र कार्तिकेयन सुब्रमनियमले २० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।

सुरुआती दुई खेलमा पराजित भएपछि दवावमा आएको नेपालले हिजो भएको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई १९ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो । प्रतियोगिताको विजेताले एशिया कप क्रिकेटमा सहभागिता जनाउन पाउँनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *