एजेन्सी । अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेस्सी, पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोले र विश्वकप विजेता फ्रान्सका युवा स्टार केलियन एमबाप्पे द बेस्ट फिफा उत्कृष्ट पुरुष खेलाडीमा परेका छन् । मंगलबार फुटबलको सर्वोच्च निकाय फिफाले उत्कृष्ट १० पुरुष तथा महिला खेलाडीको सूची सार्वजनिक गरेकोमा मेस्सी, रोनाल्डो र एमबाप्पे उत्कृष्ट १० पुरुष खेलाडीमा परेका हुन् ।

रुसमा सम्पन्न विश्वकप फुटबल विजेता फ्रान्सका तीन खेलाडी समावेश भएका छन् । उत्कृष्ट १० पुरुष खेलाडीमा इजिप्टका स्टार खेलाडी मोहमद सलाह, विश्वकप विजेता एन्टोनि ग्रिजम्यान र राफेल भारान, गोल्डेन बुट विजेता इंग्लयान्डका ह्यारी केन पनि उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन् । त्यस्तै रियल मड्रिडका मिडफिल्डर लुका मड्रिच, बेल्यिमको केभनी डी ब्रयुन, बेल्जियमकै इडेन हजार्ड उत्कृष्ट १० पुरुष खेलाडी भित्र परेका छन् ।

मेस्सी, रोनाल्डोसँग सँगै चर्चामा रहेका ब्राजेलियन स्टार विश्वकै सबै भन्दा महँगा खेलाडी नेइमार भने यो वर्षको उत्कृष्ट १० मा परेका छैनन् ।

महिला तर्फ इंल्याण्डकी लुुसी ब्रोन्ज, डेनमार्ककी पर्निल हार्डर, नर्वेकी अडा हेगेर्बर्ग, फ्रान्सकी अमान्डाइन हेनरी, अस्ट्रेलियाकी समन्था केर, जापानकी साकी कुमागाइ, जर्मनीकी जेनिफर मारोज्सान, ब्राजिलकी मार्टा, अमेरिकाकी रापिनो, फ्रान्सकी वेन्डी रेनार्ड र पार्थ ग्लोरी एफसीकी परेकी छिन् ।

त्यसैगरी, फिफाले बेस्ट मेन्स कोचका लागि ११ कोचको नाम पनि सार्वजनिक गरेको छ । फिफाले आफ्ना सदस्य राष्ट्रका टिम कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्ने गर्दछ । फिफाले दुई वर्षअघि सम्म फ्रान्सको फुटबल म्यागजिनसँगको सहकार्यमा बालोन डी’ओर अवार्डको नामबाट फिफा वर्ष खेलाडीको अवार्ड वितरण गर्दे आएको थियो ।