ब्रोइलरका चल्लालाई मेहेन्दी लगाएर बिक्री गर्ने गरेको रहस्य खुल्यो, ४ जना भारतीय नागरिक पक्राउ

news-details

ब्रोइलर चल्लालाई विभिन्न रङ (मेहेन्दी) लगाएर लोकल, कोइलर, गिरिराजका चल्ला भन्दै विक्री वितरण गरेको नौलो घटना फेला परेको छ । त्यस्तै नौलो घटना आज काठमाडौँमा भएको छ । चार जना भारतीय व्यक्तिले ब्रोइलरका चल्ला ल्याएर रङ लगाउँदै गर्दा फेला परेपछि उक्त रहस्य खुलेको हो ।

आज महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १४ कलङ्कीबाट चल्लालाई रङ लगाउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भारतीय नागरिक प्रेमसिलादेवी जययसवाल, वकील खान, सुनिता जयसवाल, चन्दादेवी शाह रहेका छन् । उनीहरुले चितवन लगायत विभिन्न जिल्लाबाट ब्रोइलरको चल्ला ल्याइ रङ लगाएर लोकलको मुल्यमा विक्री गर्ने गरेको खुलेको छ । कम मूल्यका चल्लालाई रङ लगाएपछि प्रतिगोटा रु १५० सम्ममा विक्री गर्ने गरेको खुलेको छ ।

विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरी ठगी मुद्दामा कानुनी अनुसन्धान शुरु गरिएको जनाइएको छ । प्रहरीले उनीहरुको साथबाट यसरी रङ लगाएका झण्डै चार हजार र रङ लगाउने तयारीमा राखिएका २४ हजार चल्ला समेत बरामद गरेको छ । प्रहरीले प्रयोग गरिएका मेहन्दीका खोल र प्रयोग गर्न राखिएको मेहेन्दीका पोका समेत बरामद गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *