छोटो विधिबाट जात्रा सम्पन्न गर्नेगरी मच्छेन्द्रनाथको क्षमा पूजा जारी, यो वर्ष भोटो जात्रा नहुने

news-details

जिल्ला प्रशासन कार्यालय ललितपुरको कर्फ्यूकाबीच रातो मच्छेन्द्रनाथको क्षमा पुजा जारी रहेको छ ।

विहिबार रातो मच्छेन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि असामान्य बनेको ललितपुर क्षेत्रलाई साम्य पार्ने क्रममा विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णय अनुसार छोटो विधिबाट जात्रा सम्पन्न गर्नेगरी क्षमापुजा सुरु गरिएको हो ।

क्षमा पूजा पछि ज्योतिषले साइत हेर्ने र यसपछि मत्स्येन्द्रनाथलाई सिधै बुङ्ममती पुर्‍याउने सहमति भएको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिएका छन ।

परम्परा अनुसार पहिलो दिन पुल्चोकबाट गाःबहाल पुर्‍याएर गुरुपूजा, दोस्रो दिन गाःबहालबाट मंगलबजार पुर्‍याएर दरबार पूजा, तेस्रो दिन मंगलबजारबाट सुन्धारा पुर्‍याएर बाराही पूजा र सुन्धाराबाट लगनखेल पुर्‍याएर उपयुक्त दिनमा महाबली दिने गरिन्छ ।

त्यसपछि फेरि अर्को दिन शुभ मुहूर्त हेरेर रथलाई जाउलाखेल पुर्‍याउने र जाउलाखेलमा पु¥याएको चौथो दिनमा भोटो देखाउने परम्परा रहेपनि यसवर्ष सिधै बुङ्ममती पुरयाउने निर्णय भएकाले भोटो जात्रा नहुने भएको हो ।

रथयात्राको विषयलाई लिएर बिहीबार पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो ।

महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले कर्फ्यूपछि अवस्था सामान्य बनेको बताएका छन । बिहीबारको झडपमा ट्राफिक प्रहरीलाई कुटपिट गर्नेमध्ये नौ जनालाई प्रहरीले पक्राउ गरेको पनि उनले जानकारी दिए ।

त्यस्तै हिजै स्थानीय सरोकारवाला, जनप्रतिनिधिहरू समेत सहभागी बैठकले घटनामा स्थानीय गुठी वा कुनै समूहको सहभागिता नभएको भन्दै घटनाप्रति खेद व्यक्त गरेका थिए । साथै बैठकले यो वर्षको भोटो जात्रा नगर्ने निर्णयसमेत गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *