देशका विभिन्न ठाँउमा बाढी पहिरो : १८ को मृत्यु १५ घाइते र १२ जना बेपत्ता

news-details

अविरल बर्षा र बाढीका कारण म्याग्दीको विभिन्न स्थानमा १० जनाको मृत्यु र १२ जना बेपत्ता, कास्कीमा ५ जनाको मृत्यु १२ जना घाइते तथा लमजुङमा ३ जनाको मृत्यु र ३ जना घाइते भएका छन ।

म्याग्दीको धौलागिरी गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जना, मालिका गाउँपालिका–७ बिममा आठ जना गरी १० जनाको मृत्यु भएको र धौलागिरी गाउँपालिका–६, मराङमा १२ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । उनका अनुसार धौलागिरी गाउँपालिका मराङमा २० घर, ताकममा पाँच घर, मालिका गाउँपालिका–७, बिममा १० घर पूर्णरुपमा क्षति भएको छ ।

त्यस्तै बेनी-जोमसोम सडक खण्डको गलेश्वरस्थित राहुघाट नदीमाथिको बेलीब्रिज नदीको कटानले पूर्णरुपमा क्षति भएको प्रजिअ ढकालले बताए । ढकालका अनुसार सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कास्कीमा पाँचजनाको मृत्यु, १२ जना घाइते

यस्तै कास्कीका तीन ठाउँमा आएको पहिरोमा परी पाँचजनाको मृत्यु र १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पोखरा महानगरपालिका–१८ सराङकोटको गोठादीमा स्थानीय टंकबहादुर थापाको घर पुरिँदा सोही घरका सदस्य र पाहुना भई आएका चारजनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् ।

मृत्यु हुनेहरूमा ५० वर्षीय टंकबहादुर थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया, ११ वर्षीया ईशीका थापा र मृतक टंकको दाइको नाति ६ वर्षीय सुवान थापा रहेका छन् । यस्तै, टंककी छोरी २२ वर्षीया पिंकी, १८ वर्षीया आशा, पिंकीकी पाँच वर्षीया छोरी पिरिशा, तनहुँको दमौली घर भएकी २८ वर्षीया सरस्वती श्रेष्ठ ९मृतक सोममायाकी बहिनी०, सरस्वतीका छोरा आठ वर्षीय शीतल, १० वर्षीय सन्देश, छिमेकी १९ वर्षीय अनिश तामाङ, १९ वर्षीया रशी थापा र १९ वर्षीया रश्मि थापा रहेका छन् । घाइतेमध्ये केही पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा र केहीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको लागि लगिएको छ ।

यस्तै पोखरा महानगरपालिका–२५ हेम्जामा गएको पहिरोमा परी एक ७० वर्षीया महिलाको मृत्यु भएको छ । स्थानीय रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा उनकी आमा भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता डिएसपी हमालले जानकारी दिए।

भने पोखरा महानगरपालिका–१८ छोरेपाटनस्थित सिमलटुँडामा आएको पहिरोमा परी तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार स्थानयि चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् ।

लमजुङमा तीन जनाको मृत्यु, तीन घाइते

लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेसीसहर नगरपालिका ७ सातबीसेमा बिहीबार राति १२ बजे पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।

लमजुङका प्रहरी प्रमुख गंगाबहादुर थापाका अनुसार घटनामा घाइते हुनेमा सन्तबहादुर गुरुङ, अनिल गुरुङ र सुमने गुरुङ रहेका छन । उनीहरुको लमजुङको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *