लघुवित्तकी कर्मचारी सुजाता तामाङको हत्यामा संलग्न पक्राउ

news-details

गत मङ्गलबार पाँचथरको हिलिहाङ गाँउपालिका–६ केराबारीको सिटे जङ्गलमा भएको लघुवित्तकी कर्मचारी सुजाता तामाङको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिलिहाङ–३ गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्स लिमिटेडको शाखामा कार्यरत इलामकी २२ वर्षीया  तामाङको हत्यामा संलग्न हिलिहाङ–६ केराबारीका १९ वर्षीय जस्मिन भनिने घनेन्द्र लावती पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा खटिएको टोलीले लावतीलाई आज अपराह्न जङ्गलमा लुकेर बसेको अवस्थामा फेला पारेको हो । लावतीको साथबाट तामाङबाट लुटिएको रु ८१ हजार ७० नगद तथा तामाङको हत्यामा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । हत्यामा संलग्न लावतीमाथि थप अनुसन्धान थालिएको उनले बताए ।

हिलिहाङ गाँउपालिका–६ का सेर्चेप्पा र रातमाटे टोलमा रहेका एनएमबी माइक्रोफाइनान्सका दुई वटा समूहको बैठक सम्पन्न गरेर मेची राजमार्गमा रहेको जोरपोखरी बजार फर्कँदै गरेकी सोही संस्थाकी प्रशिक्षार्थी कामदार तामाङको मङ्गलबार दिउँसो घाँटी, पेट र हातमा खुकुरी प्रहार गरी हत्या भएको थियो ।

प्रत्येक महिनाको ३ गते हुने दुवै सूमहको बैठक सम्पन्न गरेर गोरेटो बाटो हिँड्दै गएकी तामाङको सिटे जङ्गलको सिद्धे खोल्सामा हत्या भएको थियो । घटनास्थल घना जङ्गलको बीचमा रहेका कारण आवाज बस्तीसम्म सुन्न नसकिने अवस्था रहेको वडाध्यक्ष कृष्णबहादुर यवाको भनाइ छ । तामाङ इलामको माईजोगमाई गाँउपालिका–२ घर भई विगत छ महिनादेखि उक्त लघुवित्तमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *