एनआरएनए वेष्टर्न अष्ट्रेलिया संयोजकमा सुनिल श्रेष्ठले उम्मेद्धवारी दिने
- रोजगारमञ्च
- जेष्ठ १२, २०८२
- 0

गैरआवासीय नेपाली संघ, अष्ट्रेलियाले आगामी जुलाई २६ तारिख निर्वाचनको मिति घोषणा गरेसँगै एनआरएनए अष्ट्रेलियामा चुनावी माहोल शुरु भएको छ । सोही अनुसार एनआरएनए वेष्टर्न अष्ट्रेलियाको संयोजकमा एनसीसी सदस्य सुनिल श्रेष्ठले उम्मेदवारी दिने जनाएका छन् ।
एनआरएनए अभियानमा आफ्नो अनुभव, आत्मविश्वास र नेपाली समुदायका लागि निस्वार्थ काम गर्ने महत्वकांक्षा भएका कारण आगामी कार्यकालका लागि श्रेष्ठले एनआरएनए वेष्टर्न अष्ट्रेलिया संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
एनआरएनएमा निरन्तर समर्पण र सहयात्रा गर्दै नेपाली समुदायमा सक्रिय योगदानबाट प्रेरित भएर सबै नेपालीको हित संरक्षण गर्न अग्रजको सल्लाह र आग्रहमा वेष्र्टन अष्ट्रेलियाको नेतृत्व गर्न अगाडि बढेको श्रेष्ठकोे भनाई छ ।
सन् २००९ देखि नै एनआरएनएको साधारण सदस्य लिएका श्रेष्ठ सन् २०१९ देखि एनआरएनएमा सक्रिय रूपमा संलग्न रहेका छन् । एनआरएनए वेष्टर्न अष्ट्रेलिया कार्यकारी सदस्य (२०१९–२०२१), उपसंयोजक (२०२१–२०२३), र हाल एनसीसी सदस्य (२०२३–२०२५) को रूपमा जिम्मेवारी निर्वाह गरिसकेका श्रेष्ठ वेष्टर्न अष्ट्रेलियामा परिचित र सबैको रोजाईमा पर्ने व्यक्ति हुन् ।
पश्चिम अष्ट्रेलियाली नेपाली समुदायको आवश्यकता, चुनौती र आकांक्षाहरूको गहन बुझाई रहेकाले आफ्नो उम्मेदवारीले नेपाली समुदायलाई एकताबद्ध, समावेशी र सशक्त बनाउने श्रेष्ठको बुझाई छ ।
सन् २००९ मा विद्यार्थी भिसामा अष्ट्रेलिया प्रवेश गरेका श्रेष्ठले अष्ट्रेलियालाई नै कर्मथलो बनाइरहका छन् । पर्थको वेलआर्टमा हस्पिटालिटी क्षेत्रमा व्यवसाय गरिरहेका श्रेष्ठको अष्ट्रेलिया सरकारसँग राम्रो सम्बन्ध र सहकार्य रहेको छ ।
उनी भन्छन्–‘एनआरएनए मलाई सबै प्यारो लाग्ने संस्था हो । नेपाली समुदायलाई सहयोग गर्न देखि नेपालमा हरेक प्रकारको सहयोग गर्नका लागि एनआरएनएबाट धेरै काम भएका छन् । मैले अष्ट्रेलिया सरकारसँग समन्वय गरेर नेपाली समुदायका लागि धेरै सहयोग जुटाउन सफल भएको छु ।’
एनआरएनए अष्ट्रेलियाले आगामी जुन ६ तारिखसम्म मात्र सदस्यता खुल्ला गरेको छ । अष्ट्रेलियामा रहनु भएका सम्पुर्ण नेपालीहरुमा समयमा नै सदस्यता बन्न तथा नविकरण गर्नका लागि श्रेष्ठले अपील गरेका छन् ।