श्रम मन्त्री र एनआरएनए मलेसिया भेटवार्ता : सिण्डिकेट कुनै हालतमा मान्य नहुने मन्त्री भण्डारीको अडान

news-details

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई गैरआवासीय नेपाली संघ मलेसियाले नेपाली कामदारले मलेसियामा भोगिरहेको समस्या र सरकारले चाल्नु पर्ने कदममा बारेमा जानकारी गराएको छ ।

एनआरएनए मलेसियाका अध्यक्ष राकेशप्रसाद महतो र उपाध्यक्ष रंजित क्षेत्रीले बिहीबार मन्त्रालयमा भेटी मन्त्री भण्डारीलाई मलेसिया रोजगारका नाम हुने कुनै पनि सिण्डिकेट लागु गर्न नदिन र मलेसियामा रहेका श्रमिकले भोगेका समस्यालाई तत्काल समाधान गर्न आग्रह गरेको छ ।

अध्यक्ष महतोले केही माफियाहरुले मलेसिया पठाउनका लागि सीमित मेनपावरको सिण्डिकेट लगाउने हल्ला चलाएकोले यस्तो कार्य रोक्न आग्रह गरेका हुन् । उनले भने–‘ मलेसिया जाने श्रमिकको पहिला पसिना चुस्थे तर अव त रगत नै चुस्न खोजिरहेका छन्, यस्तो कार्य कुनै हालतमा गर्न दिनु हुँदैन ।’

अध्यक्ष महतोले मलेसियामा नेपाली श्रमिकको अकालमा मृत्यु हुने, आत्महत्या गर्ने, अवैधरुपमा बस्ने तथा चर्को शुल्क तिर्नु पर्ने बाध्यताको अन्त्य गर्न ध्यानाकर्षण गराए । उनले भने–‘ नेपाली श्रमिकहरुका लागि जनचेतानाका कार्यक्रम गर्न आवश्यकछ, यसका लागि एनआरएन मलेसिया सरकारसँग सहकार्य गर्न तयार छ ।’

मन्त्री भण्डारीले सरकार सिण्डिकेटको पक्षमा कहिल्यै नरहने भएकाले हल्लाका पछाडि नलाग्न आग्रह गरे । उनले भने–‘अहिले मेनपावर व्यवसायीहरु पनि आन्दोलन गर्ने भन्दैछन् रे, सरकारलाई सिण्डिकेट कुनै हालतमा मान्य हुँदैन र हाम्रो नियम कानूनले पनि दिदैन ।’ मन्त्री भण्डारीले कुनै हालतमा मलेसिया रोजगारमा सिण्डिकेट हुन सरकारले नदिने आश्वासन दिए । भेटमा श्रम मन्त्रालयका श्रम सहसचिव डण्डुराज घिमिरे उपस्थित थिए ।

मन्त्री भण्डारीले मलेसियामा रहेका श्रमिकका समस्याहरुमा धेरै जानकार रहेकाले उनीहरुका समस्या समाधानमा सरकारले काम गरिरहेको बताए । ‘हामी विदेशमा पुन श्रम स्वीकृति दिइरहेका छौं, स्वास्थ्य परीक्षणलाई गुणस्तरीय बनाइरहेका छौ, अव वैदेशिक रोजगारमा जाँदा लाग्ने लागतलाई टुङ्गयाउने पक्षमा छौं’ मन्त्री भण्डारीले भने–‘विदेश जानेलाई विना धितो ऋण उपलब्ध गराउँदै छौं ।’

नेपालीहरुका सहज, सरल र प्रमुख रोजगार गन्तब्य मलेसिया हो । मलेसिया रोजगारका नाममा कहिले मेडिकलको सिण्डिकेट, कहिले भीएलएनको आर्थिकभार, कहिले वन स्टप सेन्टर त कहिले जीएसजीका नाममा कामदार र व्यवसायीलाई चरम आर्थिक भार थोपरिदै आएको छ ।

अहिले फेरि सीमित २५ वटा मेनपावरले मात्र मलेसिया रोजगार गर्ने गरी सिण्डिकेट लगाउनका लागि पहल भइरहेको हुँदा मेनपावर व्यवसायी संघ तथा सकोकारवालाले विरोध गरिरहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *