एनआरएनए निर्वाचनबाट डराए आकांक्षीहरु, श्रेष्ठको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन
- Rojgar Manch
- बैशाख २१, २०८२
- 0

गैरआवासीय नेपाली संघ ९एनआरएनए० उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट जापानका महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष पदसहित अन्य पदका लागि आकांक्षीहरु धेरै भएता पनि अन्त्यमा सबै पदमा निर्विरोध चयन गरिएको हो ।
परराष्ट्रमन्त्री आरजु राणा देउवासमेतको दबाबमा कांग्रेस निकट श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएपछि बाँकी पदमा पनि निर्वाचनमा जान सबै आकांक्षीहरु डराएको देखिन्छ ।
एनआरएनएको ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी समूहको सहभागिता बिनै भएको एकता महाधिवेशनलाई सबै एनआरएनहरुले स्वीकार नगरेको अवस्थामा निर्वाचन गर्दा पराजित हुने पक्ष विच्किने पुरानो रोग भित्रिएला भन्ने डरले सवैको जोडबलमा निर्विरोध कार्यसमिति चयन गरिएको एक सहभागीले रोजगार मञ्चलाई बताए ।
११ औँ महाधिवेशनमा श्रेष्ठ उनै बद्री केसीसँग पराजित बनेका थिए । श्रेष्ठसँगै अध्यक्ष पदका लागि कतारका आके शर्मा र अमेरिकाका केशव पौडेलले दावी गरेका थिए । मध्यपूर्वबाट शर्मा अध्यक्ष पदको सशक्त दाबेदार भएपनि परराष्ट्रमन्त्रीसमेतको दबाबमा श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष घोषणा गर्दा मध्यपुर्वबाट आएका एनआरएनएहरु खुशी छैनन् ।
११ औँ महाधिवेशनमा भएको विवादकै बीचमा एनआरएनएको १० औँ महाधिवेशनको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गत वर्ष एकता महाधिवेशन गराउन परमादेश दिएको थियो ।
एनआरएनए एकता महाधिवेशनमा परराष्ट्रमन्त्री राणाको स्वार्थ, श्रेष्ठलाई अध्यक्ष बनाउन भित्रि सहमति
नयाँ कार्यसमितिको उपाध्यक्षमा मलेसियाबाट खगेन्द्र न्यौपाने, बेल्जियमबाट लोकप्रसाद दाहाल, अमेरिकाबाट सुनिल कुमार साह, यूएईबाट मनोज कुमार श्रेष्ठ, अमेरिकाबाट बुद्धिसागर सुवेदी र विश्वास लिम्बु चयन भएका छन् । यूएईका मनोज भने ११ औं महाधिबेशनबाट सचिव पदमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए । यस्तै महिला उपाध्यक्षमा दक्षिण कोरियाबाट जुनु गुरुङ चयन हुँदा महासचिवमा अमेरिकाबाट बाबुराम लामा (विएल) चयन भएका छन् ।
यस्तै सचिवमा टंक गैरे, चिन्तामणि सापकोटा, तिलक गैरे, देवकी गुरुङ चयन हुँदा कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना सर्वसम्मत भएका छन् । यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल चयन भएका छन् ।
मध्यपुर्व संयोजकमा यूएईबाट रमेश श्रेष्ठ र मध्यपुर्व उपसंयोजकमा कतारबाट सुनिल कुमार घिमिरे र कतारकै श्रकृष्ण भट्टराई चयन भएका छन् ।
यस्तै युवा संयोजक, क्षेत्रीय संयोजक, उपसंयोजकलगायतका पदमा पनि निर्विरोध चयन गरिएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले जानकारी दिए ।
एकता महाधिवेशन भनिएपनि हालसम्म एनआरएनएको आधिकारिकता भने बद्री केसी नेतृत्वको एनआरएनएसँगै छ । यो विषय सर्वोच्चमा समेत विचाराधीन रहेकाले एनआरएनएभित्र आगामी दिनमा विवाद थप चर्किने जानकारहरूको भनाइ छ । आज नै सर्वोच्च अदालतमा एनआरएनएको मुद्धाको पेशी रहेकाले भोलि के हुन्छ भन्ने अन्योलता कायमै छ ।