एनआरएनए एकता महाधिवेशनमा परराष्ट्रमन्त्री राणाको स्वार्थ, श्रेष्ठलाई अध्यक्ष बनाउन भित्रि सहमति
- रोजगारमञ्च
- बैशाख २०, २०८२
- 0

गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले उद्घाटन गरेको महाधिवेशन मे ५ सम्म जारी रहने छ ।
डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आयोजना गरेको महाधिवेशन उद्घाटन अघि परराष्ट्र मन्त्री राणाले महेश श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष बनाउन दबाब दिएको र सोही अनुसार भित्रि सहमति भएको विषयले अहिले सम्मेलनमा सहभागी एनआरएनहरुमा अन्योलता छाएको छ ।
उदघाटन समारोहमै बोल्दै परराष्ट्र मन्त्री राणाले भनिन ‘तपाईहरुको एकता नभएसम्म म कार्यक्रममा सहभागी हुन आउदिन भनेको थिए, सहमतिका लागि आरकेजी, महेशजी र केशवजीले देखाउनुभएको उदारतालाई सम्मान गर्दै म आएकी हुँ ।’
मन्त्री राणाले श्रेष्ठलाई अध्यक्ष बनाए एनआरएनए एकताका लागि मन्त्रालयले सक्दो पहल गर्ने आश्वासन पनि दिएकी बुझिएको छ । एकता महाधिवेशनमा नेतृत्वको लागि आरके शर्मा, केशव पौडेल र महेश श्रेष्ठको चर्चा थियो । तथापी परराष्ट्र मन्त्रीले श्रेष्ठलाई अध्यक्ष नबनाए आफु महाधिवेशनमा सहभागी नहुने बताएपछि आयोजक समेत समस्यामा परेको बुझिएको छ ।
एकता महाधिवेशनलाई कांग्रेस समर्थित केहि अभियान्ताहरुको महाधिवेशन भनेर आरोप लागिरहदा आरके शर्मासहितका एनआरएन अभियन्ताहरु पनि यस अभियानमा जोडिदा उक्त विषय छायामा परेको थियो । अहिले सम्मेलनमा सहभागी एनआरएन प्रतिनिधीहरुको ठुलो हिस्सा आरके शर्मा समर्थित रहेका छन ।
विगतदेखि नै एकता महाधिवेशन सफल बनाउन र नेतृत्व लिएर एनआरएनए एकतामा भूमिका खेल्ने उद्देश्यसहित अभियानमा लागिरहेको शर्मालाई नै नेतृत्व दिनुपर्ने यो समूहको अडान छ । यो समूहले शर्मा सर्वसम्मत नभए चुनावी प्रतिष्पर्धामा जानुपर्नेमा लबी गरिरहेको छ ।
शर्माले उदघाटन समारोहमा बोल्ने क्रममै आफ्नो चाहना यसरी पोखेका थिए ‘मध्यपूर्व नेतृत्वका लागि काविल हुदाहुदै पनि अहिलेसम्म नेतृत्वमा जान पाएको छैन, अहिले पनि मध्यपूर्वलाई नेतृत्व वाहिर राख्ने अवस्था बनाउनु हुन्न ।’
शर्माले अघिल्लो महाधिवेशनमा धाधली गरेर आफुलाई नेतृत्वबाट बञ्चित गराउने खेल भएको स्मरण गर्दै उक्त निर्वाचन परिणाम अस्वीकार गर्दे श्रेष्ठ लगायतका समूहले आफ्नो नेतृत्वमा छुट्टै कार्यसमिति गठन गरेको बताए । यसैले पनि आफु अहिले अध्यक्षको र्निविकल्प दावेदार भएको शर्माको तर्क छ ।
उता अर्को समूह भने महेश श्रेष्ठलाई नेतृत्वमा ल्याउन सकिए एकता अभियान बाहिर रहेका धेरै एनआरएन अभियान्ताहरुलाई एकता अभियानमा भित्र्याउन सकिने बताउँछन । परराष्ट्र मन्त्रीको साथ समेत पाएका श्रेष्ठको नेतृत्व आएमा कांग्रेस समर्थित धेरै अभियान्ताहरु यस अभियानमा जोडिने उक्त समूहको बुझाई छ ।
यस्तै आगामी नेतृत्वका लागि अन्य पदहरुमा पनि आकांक्षा राख्नेहरुले आ–आफ्नै ढंगले लबिङ गरिरहेका छन । तथापी अहिलेसम्म सर्वसम्मत नेतृत्व चयन हुने हो या निर्वाचन हुने हो कुनै टुंगो लागेको छैन ।
पूर्व अध्यक्ष शेष घले र देवमान हिराचनबाहेक अन्य पूर्वअध्यक्षहरु महाधिवेशनमा सहभागी भएका छैनन भने डा. बद्री केसी समूहले यस महाधिवेशनलाई अस्वीकार गरेको छ ।
त्यसो त आजबाट सुरु भएको एकता अधिवेशनमा विगतदेखि नै एनआरएन अभियानमा लागेकाहरुको सहभागिता न्यून छ । त्यहीमाथि दबाब र प्रभावमा नेतृत्व चयन गर्न तिर लाग्ने हो भने एकता अभियान एउटा फुट भन्दा माथि जान सक्ने देखिदैन ।
यसर्थ एकता अधिवेशनबाट यस्तो नेतृत्व आउन जरुरी छ जसले एनआरएनको अर्को ठुलो पंक्तिलाई पनि सँगै लिएर अघि बढने वातावरण बनाउन सक्छ । यसका लागि अधिवेशमा दबाब र प्रभावले भन्दा पनि अधिवेशनमा सहभागी प्रतिनिधीहरुले नेतृत्व छान्न जरुरी छ ।