एनआरएनए अष्ट्रेलियाले जाजरकोटमा बनायो विद्यालय भवन

news-details

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले भूकम्पले क्षति पु¥याएको जाजरकोटमा विद्यालय भवन निमार्ण गरेको छ ।

जाजरकोटको भेरी नगरपालिका २ बहुनथानामा रहेको श्री शंकर भवन माध्यमिक विद्यालयका लागि २ कोठे पक्की भवन निमार्ण गरेको हो । एनआरएनए अष्ट्रेलियाको आर्थिक सहयोग र यार्सन जाजरकोटको सहजीकरणमा उक्त भवन निमार्ण सम्पन्न भएको हो ।

विद्यालय भवनको बिहीबार एनआरएनए ओसियाना क्षेत्रीय संयोजक दिनेश पोखरेल, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल र एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष शम्भु गाइसीले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

झण्डै ४० हजार डलरको पुनर्निर्माण परियोजनामा एनआरएनए अष्ट्रेलियाले २५ हजार डलर सहयोग गरेको र बाँकी स्थानीय सरकार तथा समुदायले अनुदान दिएको जनाइएको छ ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोखरेलले जाजरकोटमा रहेको विद्यालयको उद्घाटन गरेपछि सहयोगी सबैलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्–‘ यो परियोजना सम्पन्न गर्नमा अष्ट्रेलियामा रहेका नेपाली डायस्पोरा कति एकताबद्ध र उदार छन् भन्ने ज्वलन्त उदाहरण हो, एनआरएनए अष्ट्रेलिया बोर्ड, हाम्रा सहयोगीहरू, अष्ट्रेलियाली नेपाली मिडिया, सामुदायिक संस्थाहरू, दाताहरू र योगदान गर्ने प्रत्येक व्यक्तिलाई विशेष धन्यवाद ।’

अध्यक्ष पोखरेलले नेपालमा परेको समस्यामा अष्ट्रेलियाली नेपाली समुदायले सहयोग गर्न पाएको र सवैको साथ मिलेको बताएका छन् ।
एनआरएनए ओसियाना क्षेत्रीय संयोजक दिनेश पोखरेलको साथ र सहयोगलाई कदर गरेका अध्यक्ष पोखरेलले जाजरकोटसम्म आएर हौसला र समर्थन जनाएकोमा क्षेत्रीय संयोजकको प्रसंसा गरेका छन् ।

गत नोभेम्वरमा जाजरकोटमा केन्द्रबिन्दु रहेको विनाशकारी भुकम्पमा एनआरएनए अष्ट्रेलियाले तुरुन्तै प्रभावित समुदायहरूलाई सहयोग गर्न कोष सङ्कलन अभियान सुरु गरेको र एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष संजय पुरीको नेतृत्वमा तत्काल आवश्यक परेकाहरूलाई राहत प्रदान गर्न सफल भएको समेत अध्यक्ष पोखरेलले जनाएका छन् ।

जाजरकोट पुगेका एनआरएनए क्षेत्रीय संयोजक पोखरेल, अध्यक्ष पोखरेल र उपाध्यक्ष गाइसीलाई स्थानीय, विद्यालय परिवार र विद्यार्थीले स्वागत गर्दै आतिथ्यता प्रदान गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *