एनआरएनए युवा सम्मेलन थाइल्याण्डमा प्रधानमन्त्री ओलीले भर्चुअल संवोधन गर्ने

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को थाइल्याण्डमा आज दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले शनिवार (आज) देखि थाईल्याण्डको बैंककमा आयोजित दुई दिने सो सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्न लागेको संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले उद्घाटन सत्रको अन्त्यमा सम्बोधन गर्दै विदेशमा रहेका युवाहरूसँग संवाद गर्ने बताइएको छ ।

नेपालबाट युवाहरूको विदेश पलायन भइरहेको र देशमा सक्रिय जनसंख्या घट्दै गएको अवस्थामा, एनआरएनएले यस्तो सम्मेलन आयोजना गर्न लागेको गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले जानकारी दिए । साथै उनले सम्मेलनको तयारी पुरा भएको बताए ।

नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाइ, उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने उद्देश्य राखिएको अन्तर्राष्ट्रिय युवा सम्मेलनको मुख्य उद्देश्य रहेको एनआरएनए ले जनाएको छ ।

दोस्रो विश्वयुद्धपछि बर्मा, थाइल्याण्ड, मलेसिया, सिंगापुर, फिजी र मोरिसस जस्ता देशहरूमा ७ लाख नेपाली मूलका युवा पहिचानको खोजी गर्दै नेपालको समृद्धिमा पुस्तौँदेखि जोडिन चाहन्छन्, एनआरएनए पिपुल अफ नेपाली अरिजिन (पिएनओज) का संयोजक कुमार कार्कीले जनाए ।

“इम्पावरिङ द युथ, शार्पिङ द पिएनओज फ्युचर” भन्ने मूल नारासँग युवा सम्मेलन आयोजना गर्न लागिएको हो ।

सम्मेलन थाइल्याण्डको बैंककमा १५–१६ मार्च २०२५ मा आयोजना गरिनेछ । सम्मेलनको अन्त्यमा बैंकक घोषणापत्र जारी गर्ने तयारी गरिएको छ ।

सम्मेलनमा भाग लिन सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, पूर्वमन्त्री र सांसद पदम गिरी, सांसद माधव सापकोटा, थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षहरू डा. हेम राज शर्मा, रामशरण सिमखडा लगायत संघको पदाधिकारी टोली बैंकक पुगेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *