एनआरएन सोसल क्लब ओमानको अध्यक्षमा खडका
- फाल्गुन १८, २०८१
- 0

गैरआवासीय नेपाली (एनआरएन) सोसल क्लब ओमानले सुरेश खड्काको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । मस्कटको हिलेडे इन होटलमा शुक्रवार, २८ फेब्रुअरीमा भएको आठौं अधिवेशनले खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा रबिन शिल्पकार, लक्ष्मीप्रसाद कोइराला, गोपाल कुवर र सुबास काफ्ले चयन गरेको छ भने महिला उपाध्यक्षमा उम्मेदवारी परेको थिएन । यसैगरी महासचिवमा बिनोद श्रेष्ठ, सचिवमा काशिराम सुनार, केशब थापा, डा. कमल अर्याल र बिनोद दास, कोषाध्यक्षमा गितादेवी धिताल, सहकोषाध्यक्षमा महेन्द्र तिवारी, प्रवक्तामा राजेश महर्जन, महिला सम्योजकमा मिरा नेपाली, युवा संयोजकमा सुरज चित्रकार चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस्तै सदस्यहरुमा डा अनिल कुमार रजक, शुवास पाठक, डा सहदेव बिडारि, डा सङ्दु शेर्पा, श्याम भट्टराई, प्रीयंका काफ्ले खतिवडा, देवान खड्का, लक्ष्मण श्रेष्ठ, वासुदेव गुरुङ, आशिष घर्ती मगर, सुशील कुमार शाह, धन बहादुर शिवा र नन्दलाल खनाल चयन भएका छन ।
एनआरएनए ओमान, स्थानीय प्रशाशनमा दर्ता भएकाले ओमान सरकारको नियमअनुसार हरेक दुई बर्षमा (जनवरीदेखि मार्च भित्र) अधिवेशन गर्नुपर्ने वाध्यकारी कानुनी ब्यबस्थाका कारण संसारभरका अन्य एनआरएनए एनसीसीहरुमा सबैभन्दा पहिला ओमान एनसीसीको अधिवेशन हुँदै आएको छ । सन २००९ मा स्थापना भएको एन आर एन ओमानले ओमानको मन्त्रालयबाट फेब्रुअरी २०१७ मा एन आर एन सोसल क्लबको मान्यता पाएको थियो ।
एनआरएन सोसल क्लब ओमानको महधिवेशनका लागि तोलाकान्त भट्टराईको संयोजकत्वमा पुर्व अध्यक्षहरु दिपक श्रेष्ठ, (हालको संरक्षक तथा मानार्थ सदस्य एन आर एन ए) र सेवन्त पुर्जा पुन (हालको प्रमुख संयोजक) सदस्य रहने गरी निर्वाचन समिती बनाइएको थियो ।
ओमानका लागि नेपाली राजदुत महामहिम डोरनाथ अर्यालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा एनआरएनए आइसीसीका पुर्वउपाध्यक्ष समेत रहेका एनआरएन अभियान्ता तथा माओबादी केन्द्रका केन्द्रिय सदस्य डिबि क्षेत्री तथा ओमान स्थित नेपाली संघसस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई बिशेष अतिथी डिबि क्षेत्रीले सपथ ग्रहण गराएका थिए ।
प्रमुख अतिथी समेत रहेका राजदुत अर्यालले एनआरएन सोसल क्लबले गरेका कामहरुको प्रशंशा गर्दै क्लबसँग सहकार्य गरेर दूतावासले गरेका कामहरुको पनि चर्चा गरेका थिए । यस्तै उनले क्लबको नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा दूतावासले गर्न सक्ने सहयोगको लागि दूतावास सधै तयार रहेको बताए ।
त्यस्तै बिशेष अथिती एनआरएनका पूर्व उपाध्यक्ष डिबि छेत्रीले एनआरएन सोसल क्लब स्थापनादेखि दर्ता गर्दा सम्मका दुःख, सामाजिक कार्य, हैरानी इत्यादी बारे बोल्दै अहिलेसम्म आउदा दूतावाससँगको सहकार्यमा सामाजिक कामका लागि धेरै सहज भएको बताउदै नया कार्यसमितिलाई बधाइ ज्ञापन गरे ।