मलेसियाको जेलमा फसेका १४ नेपालीलाई एनआरएनएले स्वदेश ल्यायो
- रोजगारमञ्च
- कार्तिक १२, २०७८
- 0

रोजगारीका लागि मलेसिया पुगेर विभिन्न कारणले जेल जीवन भोग्न बाध्य १४ नेपाली शुक्रवार स्वदेश फर्किएका छन् । उनीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाली दूतावास मलेसियाको सहकार्यमा स्वदेश फर्काएको हो ।
विभिन्न समयमा मलेसियाको जेलमा परेका नेपालीहरुलाई एनआरएनएले हवाईटिकट तथा घरसम्म जानका लागि सेवा उपलब्ध गराएपछि उनीहरु स्वदेश फर्कन सफल भएका हुन् ।
एनआरएनएको कोभिड १९ राहत तथा उद्धार कार्यक्रम अन्तर्गत उनीहरुलार्ई स्वदेश ल्याउन र घरसम्म पुग्नका लागि सम्पूर्ण सहयोग गरेर ल्याइएको प्रोजेक्ट मेनेजर सुजता शर्माले जानकारी दिइन् ।
बाहुनडाँगी झापाका निर्मल पोखरेल ५ बर्षपछि स्वदेश आउन पाएकोमा एकातिर खुशी थिए तर यहीबीचमा आफ्नो बुवाको निधन भएको हुँदा काजक्रिया गर्नका लागि घर पुग्न हतारोमा देखिन्थे । उनी विमानस्थल ओर्लने बित्तिकै झापा जाने गाडीमा चढ्न डिहिहाले ।
उनले भने–‘मलेसियामा सुरक्षा गार्ड काम गर्दा गर्दै इमिग्रेशनले पक्रिएर जेल लग्यो, घरमा बुवाको निधन हुँदासम्म घर आउन पाइएन ।’ मलेसिया पुगेर कम्पनी परिवर्तन गरेर गैरकानूनी बनेका पोखरेल ६ महिना जेल परेर स्वदेश आएका हुन् ।
उनीलगायत १४ जना नेपालीलाई एनआरएनएले सहयोग गरेर स्वदेश ल्याएपछि पोखरेलले भने–‘ हामीलाई त स्वदेश आएपछि पो थाहा भयो, एनआरएनएले सहयोग गरेको रहेछ ।’
पोखरेलसहित शुक्रवार स्वदेश फर्कनेहरुमा कमल भट्टराई, खजुरा–६ (सुर्खेत), किशन राई, थितिंगा–६ (भोजपुर), धिरज कुमार झा, छिरेसनाथ–२ ( धनुषा), क्षेत्र बहादुर तामाङ, झर्लाङ्ग–१ (धादिङ), रामबिर तामाङ, जौबारी–३ (पाचथर), रामजी महत्तो, सोनापुर–२ (सुनसरी), विशाल पुरवार, नेपालगंज–४ (बाके), सुनिल कुमार यादव, राजविराज–९ (सप्तरी), भक्त बहादुर मोक्तान, निजगढ–५ (बारा), शिवकुमार सरदार, महुलिया–५ (सप्तरी), हरेराम परियार, (गोरखा) राजकुमार लो (मकवानपुर), यज्ञबहादुर वि.क. (दाङ) रहेका छन् ।