काठमाडौं । बुढीगण्डकी नदीमा आइतबार बिहानै आएको बाढीपछि खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको टोली परिचालन भएको छ ।
सेनाले पहिरोको जोखिममा रहेको गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरेको हो ।
सेनाका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि सेनाको फौज हवाई तथा स्थलमार्गबाट खटिएको छ । जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षालाई प्राथमिकता दिँदै उद्धार कार्य अघि बढाइएको हो । साथै, उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमलाई समेत हवाई साधनमार्फत जगत क्षेत्रमा तैनाथ गरिएको सेनाले जनाएको छ ।
सेनासहितका सुरक्षा निकाय र स्थानीय प्रशासन उद्धार तथा राहत कार्यमा जुटेका छन् ।








