निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

news-details

संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा भएको भनिएको विवाद तथा अनियमिततासम्बन्धी विषयमा अध्ययन गर्न समिति गठन गरेको छ ।

समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको संयोजकत्वमा नौ सदस्यीय अध्ययन समिति गठन गरेको हो । शुक्रबार बसेको लेखा समितिको बैठकले उक्त समितिलाई दुई महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

गठित अध्ययन समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन् ।

निर्वाचन प्रहरीका लागि कपडा खरिदसम्बन्धी विषयमा सार्वजनिक लेखा समितिभित्र छानबिन समिति बनाउने वा अध्ययन समिति बनाउने भन्नेबारे सांसदहरूबीच मतभेद देखिएको थियो ।

बैठकमा सांसद खगेन्द्र सुनारले कपडा खरिदमा अनियमितताको प्रश्न उठिसक्दा पनि समितिले प्रभावकारी चासो नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

सांसदहरूबीचको सहमतिपछि गठित यस अध्ययन समितिले सूक्ष्म रूपमा अध्ययन गरी साझा दृष्टिकोणसहित मूल समितिलाई प्रतिवेदन पेस गर्ने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया