बसमा आगो लगाउनुअघि चालकले भनेका थिए- ‘ट्राफिकले दुःख दियो अब मेरो लास निस्किन्छ’

news-details

काठमाडौं । त्रिपुरेश्वरमा बसभित्रै आगो लगाएर घाइते भएका चालकले घटनाअघि आफूलाई ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको भन्दै गाडी साहूसँग गुनासो गरेको खुलेको छ ।

गाडी मालिक लव केसीका अनुसार चालकले ट्राफिक प्रहरीसँगको विवादपछि आफूलाई बग्गीखाना पठाउन खोजिए आत्महत्या गर्ने चेतावनी दिएका थिए । चालकले फोनमा त्यस्तो बताएपछि आफूले सम्बन्धित प्रहरी अधिकारी र ट्राफिक प्रहरीको १०३ नम्बरमा समेत जानकारी गराएको केसीको दाबी छ ।

केसीका अनुसार आइतबार बिहान करिब १० बजे त्रिपुरेश्वर क्षेत्रमा हर्न बजाएको विषयमा चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो । त्यसपछि ट्राफिक प्रहरीले चालकलाई कारबाहीका लागि नियन्त्रणमा लिन खोजेको उनको भनाइ छ ।

घटनाबारे आफूलाई करिब ११ः३० बजेतिर डीएसपीबाट जानकारी आएको केसीले बताए । त्यसपछि चालकलाई फोन गर्दा उनले आफूलाई ट्राफिक प्रहरीले ह्यारेसमेन्ट गरेको गुनासो गर्दै कारबाहीका लागि बग्गीखाना पठाइए ‘मेरो लास निस्किन्छ’ भनेको केसीको भनाइ छ ।

चालकबाट यस्तो कुरा आएपछि आफूले तत्काल प्रहरीलाई जानकारी गराएको केसीले बताए । उनका अनुसार चालकले आत्महत्याको कुरा गरेको भन्दै त्रिपुरेश्वरमा रहेको बसमा सुरक्षाकर्मी पठाउनसमेत अनुरोध गरिएको थियो ।

तर, प्रहरीलाई जानकारी गराएको करिब २५ देखि ३० मिनेटपछि चालकले बसभित्रै आगो लगाएको केसीले बताएका छन् । आगलागीमा चालक घाइते भएका छन् भने बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । चालकको उपचार कीर्तिपुर अस्पतालमा भइरहेको जनाइएको छ ।

गाडी मालिक केसीले चालकको पारिवारिक वा आर्थिक समस्या आफूलाई जानकारी नभएको बताएका छन् । उनका अनुसार चालक अविवाहित थिए र करिब दुई–तीन महिनादेखि उक्त बस चलाउँदै आएका थिए । आफूले पनि उक्त गाडी खरिद गरेको करिब एक महिना मात्रै भएको उनले बताए ।

घटनाको मुख्य कारण ट्राफिक प्रहरीसँग भएको विवाद र त्यसक्रममा भएको भनिएको व्यवहार रहेको केसीको दाबी छ । यद्यपि, घटनाको वास्तविक कारणबारे सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको छ । केसीले आफूले प्रहरीलाई घटनाअघि नै जानकारी गराएको पुष्टि गर्ने १०३ मा गरिएको फोनको कल डिटेलसमेत रहेको बताएका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया