‘झण्डाको विषय प्राविधिक हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीमूलक रहयो’ : प्रवक्ता खरेल

news-details

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको भारत भ्रमण अत्यन्तै सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ।

पार्टी सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता जगदीश खरेलले अर्थमन्त्रीको भारत भ्रमणबाट दुई देशबीचको आर्थिक साझेदारी र सम्बन्धमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएका हुन् ।

भ्रमणका क्रममा भारतीय पक्षबाट बाढी प्रभावित क्षेत्रका लागि प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गरिएको र द्विपक्षीय हित, आर्थिक सहायता तथा साझेदारीका विषयमा विस्तृत कुराकानी भएको प्रवक्ता खरेलले जानकारी दिए। सरकारी स्तरका साथै अन्य पक्षसँग पनि फलदायी छलफल भएको उनको भनाइ छ।

अर्थमन्त्री वाग्लेको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय झण्डा प्रयोग नभएको र भारतीय झण्डा मात्रै देखिएको भनी बाहिर आएका चर्चाबारे रास्वपाले स्पष्टीकरण दिएको छ।

प्रवक्ता खरेलले दुई देशबीचको औपचारिक द्विपक्षीय भेटवार्ता र प्रतिनिधिमण्डलबीचको छलफलमा नेपाल र भारत दुवै देशका राष्ट्रिय झण्डा राखिएको स्पष्ट पारे। उनले भने, ‘जहाँ भारतको झण्डा मात्रै देखिएको भनिएको छ, त्यो भारतीय वृत्त मन्त्रीको कार्यकक्षमा भएको अनौपचारिक भेटको समयको फोटो हो। त्यहाँ दुईपक्षीय डेलिगेट्सको औपचारिक वार्ता भएको थिएन।’

‘झण्डाको विषय मुख्य कुरा होइन, यो नेपालमा पनि देखिने प्राविधिक विषय मात्र हो’, प्रवक्ता खरेलले भने, ‘त्यसभन्दा महत्त्वपूर्ण कुरा त अर्थमन्त्रीको यो भारत भ्रमणबाट देशले के पायो र कस्तो उपलब्धि हासिल भयो भन्ने हो।’

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया