प्रधानमन्त्री बालेनको नेतृत्वमा १४ सदस्यीय प्रतिनिधिमण्डलले महासभामा सहभागिता जनाउने

news-details

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को ८१ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क शहर प्रस्थान गर्दैछ ।

परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् । साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने कार्यक्रम छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र साह सेप्टेम्बर २२ मा अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । साहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री साहले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

यसपटक राष्ट्रसंघमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलको संख्या १४ रहेको छ । यो पछिल्लो समय प्रधानमन्त्रीको नेतृत्वमा महासभामा सहभागिता जनाउन जानेमध्येको कम संख्या पनि हो ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री साहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रधानमन्त्री साह सेप्टेम्बर २६ मा काठमाडौं फर्किने कार्यक्रम रहेको छ भने परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २९ मा नेपाल आइपुग्नेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया