काभ्रे । निर्वाचनका बेला जनतामाझ गरेको प्रतिबद्धता सम्झँदै पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बाढीपहिरो प्रभावित परिवारको राहतका लागि आफ्नो तलबबाट रु. २० लाख सहयोग गर्ने घोषणा गरेका छन्।
निर्वाचनका क्रममा आफूले आगामी १० वर्षको सम्पूर्ण तलब जनताको सेवामा समर्पित गर्ने वाचा गरेको स्मरण गर्दै मेयर खरेलले देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला उक्त प्रतिबद्धतालाई व्यवहारमा उतार्ने बताएका हुन्।
“देशका धेरै परिवार अहिले बाढीपहिरोको पीडामा छन्। घर, सम्पत्ति र आफ्ना आफन्त गुमाएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पीडा देख्दा मैले निर्वाचनका बेला गरेको वाचा सम्झिएको छु,” खरेलले भनेका छन्।
उनले तत्काल रु. २० लाख बाढीपहिरो प्रभावित क्षेत्र तथा परिवारको राहतका लागि समर्पण गर्ने घोषणा गर्दै बाँकी तलबसमेत छिट्टै जनसेवामै लगाउने प्रतिबद्धता जनाएका छन्।
खरेलले आफ्नो सहयोगलाई ठूलो योगदानका रूपमा नभई जनताबाट प्राप्त जिम्मेवारीको सानो अंश जनतामै फर्काउने प्रयासका रूपमा व्याख्या गरेका छन्।
“पदले दिएको तलब जनताकै हो, त्यसैले जनताकै दुःखमा फर्काउन चाहन्छु,” उनले भनेका छन्।
बाढीपहिरोबाट प्रभावित सम्पूर्ण नेपालीप्रति साथ र ऐक्यबद्धता व्यक्त गर्दै मेयर खरेलले विपद्को यस घडीमा पीडित परिवारलाई सहयोग र सहानुभूति आवश्यक रहेको बताएका छन्।
जनप्रतिनिधिले निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्ने प्रयासका रूपमा खरेलको यो घोषणालाई लिन सकिन्छ।








