काठमाडौँ । रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। साथै, यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको सन्देश पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीले दिएका छन ।

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको उक्त सन्देश नेपाल सरकारलाई सुनाएका हुन ।

“बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाउनुभएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गर्नुभएको छ। बाढीमा ज्यान गुमाएकाप्रति उहाँहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ,” राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाउँदै राजदूत झाङ माओमिङले थपे, “यो दुःखमा नेपाल एक्लै छैन। चीन नेपाल र नेपाली जनताको साथमा छ।”

साथै, नेपालको विपद् पछिको उद्धार र राहतमा चीन सरकारले सहयोग निरन्तर जारी राख्ने पनि राजदूत माओमिङले बताउनुभयो।

आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक हस्तान्तरण गरेका हुन ।

यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँबराबर (२ लाख अमेरिकी डलर) को नगद सहयोग पनि हस्तान्तरण गरे ।

राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए । राजदूत माओमिङले नेपालका लागि चीन सरकारले घोषणा गरेका अन्य प्रकारका सहायता सामग्रीहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश : “यो दुःखमा नेपाल एक्लै छैन”

आज मात्रै दुईवटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौँमा ओरालेको राजदूत माओमिङले बताए । साथै, थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ।

रसुवाको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उनले अर्थमन्त्रीलाई अवगत गराए ।

त्यस्तै, जलविद्युत कम्पनीको सुरुङ (टनेल) मा फसेकाहरूको उद्धारका लागि हिजै चिनियाँ हेलिकप्टरसहितको दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप दक्ष उद्धार प्राविधिकहरू आज नेपाल आइपुगेको बताए ।

नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रूत गतिमा काम गरिरहेको कुरा पनि उनले अर्थमन्त्रीलाई जानकारी दिए।

नेपाल सरकारको तर्फबाट चीन सरकारको सहायता रकम बुझ्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अकल्पनीय विपत्तिबाट गुज्रिएको नेपाललाई चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

विपत्तिकै कारण दुवै मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको भन्दै उहाँले चीनले भोगेको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख व्यक्त गरे ।

अर्थमन्त्री डा. वाग्लेले बाढीका कारण ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली र उनीहरूको परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे ।

विश्वको बढ्दो तापक्रमको विनाशकारी क्षति हिमालय क्षेत्रका मुलुकहरूले व्यहोर्नु पर्ने कारणको सुरुवाट्ट भएको भन्दै उनले यसको सामना गर्न नेपाल र चीनबीच हातेमालो जरुरी रहेको बताए ।