काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिबारे प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गरेका छन्। उनले विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न मातहतका निकायलाई निर्देशनसमेत दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय सांसदहरूसँग छलफल भएको हो। छलफलमा बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीहरूको अवस्था, खोज तथा उद्धार तथा राहत व्यवस्थापनका विषयमा केन्द्रित भएर कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा सांसदहरूले आ–आफ्नो क्षेत्रमा बाढीले पारेको असर, जोखिममा रहेका बस्ती तथा उद्धार र राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक डाकेर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा उद्धार, खोज र राहत कार्यको प्रगतिबारे जानकारी लिएका थिए।
प्रभावित क्षेत्रका सांसदसँगको छलफलमा प्रधानमन्त्री शाहले सरकार नागरिकको सुरक्षा, उद्धार र राहतमा पूर्ण प्रतिबद्धताका साथ परिचालित रहेको बताएका छन्। उनले विशेषगरी तल्लो तटीय क्षेत्रका बस्तीमा थप सतर्कता अपनाउन र विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्पष्ट निर्देशन दिइसकिएको जानकारी गराएका छन्।
सरकारले बाढीग्रस्त क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ।








