काठमाडौं । नेपालमा विपद् वा मानवीय संकट आइपर्दा विदेशमा रहेका नेपालीको स्रोत, सीप, स्वयंसेवा र सहयोगलाई व्यवस्थित रूपमा परिचालन गर्ने बाटो खुलेको छ। यसका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघ (आईएफआरसी) बीच मानवीय सहायता, जनस्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।
समझदारीपत्रमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारी र आईएफआरसीका हेड अफ डेलिगेसन डेभिड फिसरले हस्ताक्षर गरेका छन्।
समझदारीले नेपालमा हुने विपद् तथा अन्य मानवीय संकटका बेला गैरआवासीय नेपाली समुदायबाट कोष संकलन, स्वयंसेवक परिचालन तथा आवश्यक स्रोत जुटाउन सहकार्य गर्ने व्यवस्था गरेको छ। यससँगै विदेशमा रहेका नेपाली र नेपालमा रहेका उनीहरूका परिवारबीच आवश्यक सहयोग र मानवीय सम्पर्क कायम राख्नसमेत सहकार्य गरिनेछ।
तर यसको दायरा नेपालमा मात्र सीमित रहने छैन। विदेशमा रहेका एनआरएनएका राष्ट्रिय परिषद् र सम्बन्धित देशका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीबीच सम्बन्ध विस्तार गरी नेपाली समुदायका मानवीय आवश्यकता सम्बोधन गर्ने लक्ष्यसमेत समझदारीमा समेटिएको छ।
‘एमओयू अन्त्य होइन, सहकार्यको सुरुवात हो’
एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले रेडक्रससँगको समझदारीलाई औपचारिक सम्झौताभन्दा पनि दीर्घकालीन सहकार्यको सुरुवातका रूपमा लिनुपर्ने बताएका छन ।
उनका अनुसार मानवीय सहायता तथा परोपकार एनआरएनएको प्रमुख कार्यक्षेत्रमध्ये एक हो। लगानी प्रवर्द्धन र गैरआवासीय नेपालीको कल्याणसँगै मानवीय सेवामा पनि एनआरएनएले आफ्नो विश्वव्यापी सञ्जाललाई परिचालन गर्दै आएको उनले बताए।
करिब दुई महिनाको छलफलपछि समझदारीमा पुगेको उल्लेख गर्दै शर्माले यसअघि पनि एनआरएनए र रेडक्रसबीच विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको स्मरण गरे । कोभिड–१९ महामारीका क्रममा कतारमा एनआरएनए एनसीसी र कतार रेडक्रसबीच भएको सहकार्य तथा नेपालमा सञ्चालन भइरहेका पाँचवटा ‘ब्लड बस’ परियोजनालाई उनले उदाहरणका रूपमा प्रस्तुत गरे ।
शर्माले सहकार्यलाई मध्यपूर्व, मलेसिया लगायत नेपाली श्रमिकको ठूलो उपस्थिति रहेका मुलुकसम्म विस्तार गर्न सकिने बताए । विदेशमा हुर्किरहेको नेपाली दोस्रो पुस्तालाई समेत रेडक्रसको स्वयंसेवी अभियानसँग जोडेर नेपालसँगको सम्बन्ध थप बलियो बनाउन सकिने उनको भनाइ छ।
एनआरएनएले आगामी जनवरीमा दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालमा ल्याएर करिब एक साताको स्वयंसेवी कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको छ। उक्त कार्यक्रममा रेडक्रससँग सहकार्य गर्न सकिने उनले बताए ।
विदेशमा रहेका नेपालीलाई पनि मानवीय सेवामा जोड्ने योजना
आईएफआरसीका हेड अफ डेलिगेसन डेभिड फिसरले समझदारीलाई नेपालमा विपद् जोखिम व्यवस्थापन, जनस्वास्थ्य र युवा सहभागिताका क्षेत्रमा सहकार्य विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे।
उनले नेपालमा संकट पर्दा सहयोग गर्ने मात्र नभई विदेशमा रहेका नेपाली समुदायलाई उनीहरू बसेकै देशको मानवीय सेवासँग जोड्न सकिने सम्भावना औँल्याए ।
विश्वका विभिन्न मुलुकमा नेपाली समुदायको ठूलो उपस्थिति रहेकाले त्यहाँका रेडक्रस तथा रेडक्रिसेन्ट संस्थासँग एनआरएनएको सञ्जालमार्फत सहकार्य विस्तार गर्न सकिने उनको भनाइ छ।
विदेशमा रहेका नेपालीले आफू बसेको समुदायमा समेत मानवीय तथा सामाजिक सेवामा योगदान गर्न सक्ने उल्लेख गर्दै फिसरले एनआरएनएका सदस्य तथा नेपाली समुदायलाई रेडक्रसको स्वयंसेवी अभियानसँग जोड्न सकिने बताए ।
ज्येष्ठ नागरिकदेखि आप्रवासी श्रमिकसम्म सहकार्य
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले सहकार्यलाई विपद् र राहतमा मात्र सीमित नगरी ज्येष्ठ नागरिकको हेरचाह, आप्रवासी श्रमिकको सहयोग र मानवीय सेवाका अन्य क्षेत्रमा विस्तार गर्नुपर्ने बताए ।
विदेशमा छोराछोरी र नेपालमा अभिभावक बस्ने परिवारको संख्या बढ्दै जाँदा नेपालमा एक्लै बस्ने ज्येष्ठ नागरिकको समस्या पनि बढिरहेको उनले उल्लेख गरे । यस्तो अवस्थामा ‘हेल्दी एजिङ’ अर्थात् स्वस्थ बुढ्यौली कार्यक्रमलाई समेत सहकार्यको महत्वपूर्ण क्षेत्र बनाउनुपर्ने उनको भनाइ छ।
एनआरएनएको संरचना सातै प्रदेश र ७७ जिल्लासम्म रहेको तथा रेडक्रसको देशव्यापी स्वयंसेवक सञ्जालसमेत रहेकाले यी दुई संरचनालाई जोडेर समुदायस्तरमा प्रभावकारी मानवीय कार्यक्रम सञ्चालन गर्न सकिने उनले बताए ।
विदेशमा रहेका नेपाली आप्रवासीको सहयोगका लागि सम्बन्धित देशका रेडक्रस तथा रेडक्रिसेन्ट संस्थासँग संयुक्त कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावनासमेत उनले औँल्याए ।
मनसुनका लागि कोष संकलनदेखि विश्वव्यापी सञ्जालसम्म
समझदारी कार्यान्वयनको प्रारम्भिक चरणमा एनआरएनएले आगामी मनसुनलाई लक्षित गर्दै कोष संकलन अभियान सञ्चालन गर्ने तयारी गरेको छ। यसलाई प्रारम्भिक तथा पाइलट परियोजनाका रूपमा अघि बढाइने र अपेक्षित सफलता हासिल भए आगामी वर्ष थप विस्तार गर्ने योजना रहेको अध्यक्ष शर्माले बताए।
कोष संकलनलाई व्यवस्थित बनाउन एनआरएनएले छुट्टै वेबसाइटसमेत तयार गरिरहेको र चाँडै सार्वजनिक गर्ने जानकारी उनले दिए ।
समझदारीअनुसार एनआरएनएका राष्ट्रिय परिषद्ले आफ्ना सदस्यलाई सहकार्यका क्षेत्रबारे जानकारी गराउने, विदेशमा रहेका नेपालीका मानवीय आवश्यकतासम्बन्धी सूचना आदानप्रदान गर्ने, संयुक्त कार्यक्रम तथा जनसम्पर्क गतिविधिमा सहयोग गर्ने र सम्बन्धित कार्यक्रममा रेडक्रस तथा आईएफआरसीलाई सहभागी गराउनेछन्।
त्यस्तै, नेपाल रेडक्रस र आईएफआरसीले विपद्को प्रभाव तथा जनस्वास्थ्य आवश्यकतासम्बन्धी सूचना आदानप्रदान गर्नुका साथै सम्बन्धित देशका रेडक्रस तथा रेडक्रिसेन्ट संस्थासँग समन्वय गरी सहकार्यको वातावरण निर्माण गर्नेछन्।
तीनवटै संस्थाले सहकार्यको प्रगति र आगामी कार्यक्रमको समीक्षा गर्न प्रत्येक वर्ष संयुक्त बैठक गर्ने व्यवस्था गरिएको छ। समझदारी ३० जुन २०३१ सम्म कायम रहनेछ भने विशिष्ट परियोजना तथा कार्यक्रम भने आवश्यकताअनुसार छुट्टाछुट्टै सहमतिका आधारमा कार्यान्वयन गरिनेछ।
यस समझदारीसँगै एनआरएनएको विश्वव्यापी नेपाली सञ्जाल र रेडक्रसको अन्तर्राष्ट्रिय मानवीय सञ्जाललाई जोडेर विपद्का बेला नेपालमा स्रोत जुटाउनेदेखि विदेशमा रहेका नेपालीलाई मानवीय सेवामा परिचालन गर्ने नयाँ संरचना निर्माण भएको छ।








